सम्पर्क

चौतारामा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला हाप म्याराथन पुस २४ गते शनिबार हुने जानकारी गराएको छ ।
खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०–५९ वर्ष सम्मको भेट्रान्स महिला र पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स र स्थानियबासीको महिला र पुरुष विधा समावेश गरिएको छ । हाफ म्याराथन प्रतियोगिता २१ किलोमिटरको हुने छ । नगरपालिकाको १२ नं वडाको सांगाचोकगढी देखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुदै ब्याङ्रचेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी डुडिखेलमा आएपछि दुरी पुरा हुने सह–संयोजक श्रेष्ठले बताए । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु हुने र १५ किलोमिटरको हुने आयोजकले जनाएको छ ।
हाफ म्याराथनको पुरुष र महिलातर्फको विजेताले समान ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेने ११ हजार १ सय ११ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह–संयोजक अमृतमान श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार ४० देखि ५९ वर्षसम्मको भेट्रान्सको पुरुष र महिलाको दुवै विजेताले समान ९ हजार ९ सय ९९ रुपैया प्रात गर्नेछन् । दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ । सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् ।
स्थानिय महिला र पुरुष दुवै विजेताले ५ हजार ५ सय ५५ रुपैया, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।