Skip to content
सम्पर्क
  • होम पेज
  • समाचार
  • अन्तर्वाता
  • राजनिती
  • बिदेश
  • खेलकुद
  • स्वास्थ्य
  • जिबनशैली
  • टि. भि.
  • रेडियो
  • इ-पेपर

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

२०८३ भाद्र ६ शनिबार by लोकप्रिय समाचार

काठमाडौँ, ६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल गर्दै उहाँले विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । प्रदेशको विद्युत् वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतभन्दा अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो । विद्युत् आपूर्तिमा समस्या देखिएलगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै उहाँले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताउनुभयो । मन्त्री श्रेष्ठले वितरण केन्द्रले स्थानीय आवश्यकता र समस्याका आधारमा अघि सारेका रचनात्मक योजना तथा प्रस्तावलाई प्रादेशिक कार्यालयमार्फत प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । योजना, बजेट र पूर्वाधार निर्माणको उपलब्धिभन्दा नागरिकले प्राप्त गरेको सेवाको गुणस्तरलाई कामको वास्तविक मूल्याङ्कनको आधार बनाउनुपर्ने उहाँको भनाइ छ । सरकारले चालु आर्थिक वर्षमा प्रसारण तथा वितरण प्रणाली सुधारका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनका लागि सुरुदेखि स्पष्ट योजना बनाएर काम अघि बढाउन निर्देशन दिनुभयो । आर्थिक वर्षको अन्त्यमा मात्रै प्रगति खोज्नेभन्दा अहिलेबाटै आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई गति दिनुपर्ने उहाँले बताउनुभएको सचिवालयले जनाएको छ । औद्योगिक तथा व्यावसायिक गतिविधिका दृष्टिले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउने पर्याप्त सम्भावना रहेकाले उद्योग, व्यवसाय तथा अन्य क्षेत्रमा विद्युत् उपयोग विस्तारका लागि विशेष कार्यक्रम बनाउनुपर्ने ऊर्जामन्त्री श्रेष्ठको भनाइ छ । कोशीमा विद्युत् चुहावट नियन्त्रणमा भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गर्दै उहाँले प्रसारण तथा वितरण पूर्वाधारसँग सम्बन्धित समस्या समाधानका लागि जनप्रतिनिधि र स्थानीय तहसँग सहकार्य बढाउनुपर्ने सुझाव दिनुभयो । प्राधिकरणमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा विकेन्द्रीकरणको अभ्यास सुरु गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रादेशिक कार्यालयले प्राप्त अधिकार, जिम्मेवारी र स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । अधिकारसँगै जिम्मेवारी पनि बढेकाले त्यसको परिणाम नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले वितरण प्रणालीमा लक्षित सुधार गर्न सके दिगो र गुणस्तरीय विद्युत् सेवा प्रवाहमा उल्लेख्य परिणाम हासिल गर्न सकिने बताउनुभयो । चुहावट नियन्त्रणमा कोशी प्रदेशले गरेको सुधारलाई सेवा प्रवाहमा समेत रूपान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले नागरिकको अपेक्षा उच्च रहेकाले प्राधिकरणले कार्यसम्पादनको स्तर अझमाथि उठाउनुपर्ने बताउनुभयो । नागरिकले सेवा प्रवाहलाई विद्युत् कटौती र आपूर्तिको नियमितताका आधारमा मूल्याङ्कन गर्ने भएकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो । प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले वितरण पूर्वाधार विस्तारसँगै नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तरलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । औद्योगिक तथा घरायसी क्षेत्रमा उच्च विद्युत् खपत गर्ने प्रदेश भए पनि कोशीमा विद्युत् खपत अझै बढाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । प्राधिकरणको कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यका अनुसार प्रदेशका १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा प्रदेशमा दुई हजार ४८ दशमलव ४१ गिगावाट घण्टा विद्युत् बिक्री गरिएकामा रु १९ अर्ब २१ करोड आम्दानी भएको उहाँले जानकारी दिनुभयो । प्रदेशमा विद्युत् चुहावट ११ दशमलव २१ प्रतिशतमा झरेको उहाँले जानकारी दिनुभयो । कोशी प्रादेशिक कार्यालयअन्तर्गत तीन महत्वपूर्ण सबस्टेसन निर्माणाधीन रहेको बताउँदै प्रमुख आचार्यले मोरङको लेटाङमा पोलमाउन्टेन प्रविधिको सबस्टेसन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । छलफलमा मोरङ र सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद दीपक साह, सिर्जना श्रेष्ठ, रुबिना आचार्यलगायतले जनअपेक्षाअनुसार विद्युत् सेवा प्रवाहमा सुधार गर्न सुझाव दिनुभयो । उहाँहरूले स्थानीयस्तरमा देखिएका विद्युत् आपूर्ति तथा पूर्वाधारसम्बन्धी समस्या तत्काल सम्बोधन गर्दै नागरिकलाई सहज, सुलभ, नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले सुनसरी-मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताउनुभएको छ । शुक्रबार इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उहाँले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री श्रेष्ठले चर्चामा रहेको इनरुवालाई विद्युतको ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने जानकारी दिनुभयो । उहाँले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सुनसरी-मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाउनुका साथै सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरण र विद्युत् भारत निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत सरकारले काम गरिरहेको उहाँको भनाइ छ । भोक्राहा सबस्टेसन तथा सुनसरी खोलाको स्थलगत निरीक्षणका क्रममा उहाँले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “विद्युत् आपूर्तिमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै लगिनुका साथै आवश्यक रणनीति निर्माण गर्नु जरुरी छ । साथै नीतिगत सुधार गर्नुपर्ने भएमा सोका लागि प्रभावकारी रूपमा पहल गर्दै जानेछौँ ।” -रासस–

Posted in खानेपानी, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
Prev२०८३ भाद्र महीना ६गतेको लोकप्रियसमाचार राष्टिय दैनिक

भर्खरैका खबरहरु

  • कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड
  • २०८३ भाद्र महीना ६गतेको लोकप्रियसमाचार राष्टिय दैनिक
  • २०८३भाद्र५गतेको लोकप्रियसमाचार राष्टिय दैनिक

हाम्रो बारेमा :

लोकप्रिय समाचार डट कम बिबिध बिषयमा सबै क्षेत्रका निष्पक्ष समाचारहरु तथा लेखहरु  प्रस्तुत गर्ने ससक्त समाचार पोर्टल हो ।

सुचना बिभाग दर्ता नं : ४६६।२०७४।२०७५

प्रेस काउन्सिल सूचीकरण : २२५८ ।२०७३।७४

हाम्रो ठेगाना :

नेत्रज्योति मिडिया हाउस प्रा. लि.

कार्यालय : चौतारा साँगाचोकगढी नगरपालिका-१४,नेत्रज्याेतिमार्ग, डडुवा, सिन्धुपाल्चोक

सम्पर्क : ०११-६२००६७, ९८५१०३९७४५

Email :- lokpriyasamachar@gmail.com,

Email :- lokpriyanetrajyoti@gmail.com

हाम्रो टिम् :

प्रकाशक : नेत्र बहादुर बस्नेत

सम्पादक: सन्तोषी बस्नेत

सह सम्पादक : बिपना तामाङ

व्यवस्थापक: सुमन गुरुङ (केबिगुरुङ)

कानुनी सल्लाहकार: शम्भु प्रसाद पोखरेल

सहयोगी प्रतिनिधिहरु :

मिलन कुँबर  - बेलायत

कृपा श्रेष्ठ  - जापान

Designed by Nepalwebs