नेत्र बहादुर बस्नेत , सन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१० का बासिन्दाले अब काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र वडा कार्यालयबीच सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा काठमाडौं मेडिकल कलेजका प्रशासन कार्य प्रबन्धक अर्चना थापा र जनसम्पर्क प्रमुख सुधा कट्टेल तथा वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार वडा नं. १० का बासिन्दाले उपचारका लागि अस्पताल पुग्दा प्राथमिकताका आधारमा सेवा प्राप्त गर्नुका साथै अधिकांश स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउनेछन्।
सम्झौताअनुसार बिरामी दर्ता (ओपीडी कार्ड) निःशुल्क उपलब्ध हुनेछ भने जनरल बेड शुल्कमा २५ प्रतिशत र क्याबिन शुल्कमा १० प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी आईसीयू, एचडीयू, सीसीयू तथा शल्यक्रिया कक्ष (ओटी) सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
ल्याब परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्स–रे, अल्ट्रासाउन्ड, डेन्टल एक्स–रे, ओपीजी, ईसीजी, फिजियोथेरापी, इन्डोस्कोपी, कोलोनोस्कोपी तथा विभिन्न डायग्नोस्टिक सेवामा पनि २५ प्रतिशत छुट प्रदान गरिनेछ। दन्त उपचारअन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा समेत सामग्री लागत बाहेक २५ प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ। ईआरसीपी र एमआरसीपी सेवामा पनि समान छुटको व्यवस्था गरिएको छ।

यद्यपि एन्जियोग्राम, एन्जियोप्लास्टी, न्युरो इन्टरभेन्सनलगायत क्याथ ल्याब सेवामा तथा स्टेन्ट, गाइड वायर, बलुनजस्ता सामग्रीमा कुनै छुट नहुने सम्झौतामा उल्लेख गरिएको छ। प्रत्यारोपण (ट्रान्सप्लान्ट) सेवामा पनि छुट सुविधा लागू नहुनेछ।
सम्झौतामा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक उपचार कार्यक्रम तथा ज्येष्ठ नागरिक लक्षित सुविधाहरूको उपयोग गरिसकेपछि मात्र सम्झौताअन्तर्गतको थप सहुलियत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
छुट सुविधा लिन अस्पताल पुग्ने बिरामीले आफ्नो स्थायी ठेगाना खुल्ने नागरिकता वा परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ भने १६ वर्षमुनिका बालबालिकाका लागि जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ।
वडा अध्यक्ष निलबहादुर तामाङले सम्झौताले वडा बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र उपचार खर्च कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले उपलब्ध सुविधाको अधिकतम उपयोग गर्न स्थानीयवासीलाई आग्रह समेत गरे।
सम्झौताको अवधि २०८४ साउन मसान्तसम्म रहने जनाइएको छ। दुवै पक्षले आवश्यकता र प्रभावकारिताका आधारमा सम्झौताको समीक्षा, संशोधन तथा नवीकरण गर्न सक्ने व्यवस्था पनि गरिएको छ। स्थानीय तह र स्वास्थ्य संस्थाबीचको यस सहकार्यलाई नागरिकमैत्री सेवाको उदाहरणका रूपमा हेरिएको छ।
