सम्पर्क

सिन्धुपाल्चोकमा बाढीपहिरोको जोखिम बढ्दो, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सगुन बस्नेत
चौतारा, साउन ४ । निरन्तरको वर्षासँगै सिन्धुपाल्चोक जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन जिल्लाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सम्बन्धित निकायले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, स्थानीय तहहरू तथा सुरक्षा निकायहरूले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्। पहाडी भू–भाग बढी रहेको जिल्लामा वर्षायामका बेला पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा नदी–खोलामा आकस्मिक बाढी आउने सम्भावना उच्च रहने भएकाले अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ।
विशेषगरी भोटेकोशी, सुनकोशी, इन्द्रावती, मेलम्ची लगायतका नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन भनिएको छ। साथै रातिको समयमा नदी किनार, पहिरोको जोखिम भएका भिरालो स्थान तथा कमजोर संरचनामा बसोबास नगर्न आग्रह गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित विपद्को सामना गर्न खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय स्वयंसेवकहरूलाई आवश्यक परे तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
पछिल्ला वर्षहरूमा सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ। मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सरकारी निकाय र नागरिकबीच समन्वय र पूर्वतयारी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
जिल्ला प्रशासन कार्यलयले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्न, जोखिमको अवस्था देखिए सुरक्षित स्थानतर्फ सर्न र कुनै आपत्कालीन अवस्था आएमा नजिकको सुरक्षा निकाय वा स्थानीय तहमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।