शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकको आयोजनामा अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि सञ्चालित दुईदिने सहजीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८३ साल असार १४ र १५ गते श्री कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालय, चौतारामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापक, सिकाइ केन्द्रका प्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले गर्नुभएको थियो। नेपाल सरकारका पूर्व कुशल प्रशासक एवं सिन्धुपाल्चोकका पूर्व जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले प्रमुख सहजकर्ताका रूपमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहजकर्ता भण्डारीले नेपालको संविधानले प्रत्याभूत गरेको प्रत्येक बालबालिकाको शिक्षाको अधिकार, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्था, स्थानीय तहको जिम्मेवारी, विद्यालय व्यवस्थापन, विद्यार्थी भर्ना तथा टिकाइ, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, गुणस्तरीय सिकाइ सुनिश्चितता तथा कार्यान्वयनका चुनौती र समाधानका विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले अनिवार्य तथा निःशुल्क शिक्षा केवल कानुनी व्यवस्था मात्र नभई राज्य, स्थानीय सरकार, विद्यालय, अभिभावक तथा समुदायको साझा दायित्व भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।कार्यक्रमको सञ्चालन श्री कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर श्रेष्ठले गर्नुभएको थियो। पहिलो दिन विषयगत प्रस्तुतीकरणसँगै सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल, अनुभव आदानप्रदान तथा स्थानीय तहमा देखिएका चुनौती र समाधानका उपायबारे व्यापक विचार–विमर्श गरिएको थियो। सहभागीहरूले आफ्ना पालिकामा सञ्चालन भइरहेका असल अभ्यासहरू प्रस्तुत गर्दै एकअर्काबाट सिक्ने अवसरसमेत प्राप्त गरेका थिए।दोस्रो दिन सहभागीहरूलाई समूहगत रूपमा कार्य गरी पालिकास्तरीय, सिकाइ केन्द्रस्तरीय तथा विद्यालयस्तरीय कार्ययोजना तयार गर्न लगाइएको थियो। तयार गरिएका कार्ययोजनाहरू सम्बन्धित पालिका, सिकाइ केन्द्र तथा प्रधानाध्यापकहरूले प्रस्तुत गरेका थिए। प्रस्तुतिपछि विषयवस्तुमा बृहत् अन्तरक्रिया, सुझाव तथा परामर्श गरिएको थियो। यस प्रक्रियाले कार्ययोजनालाई व्यवहारिक, कार्यान्वयनयोग्य र स्थानीय आवश्यकताअनुसार परिमार्जन गर्न महत्वपूर्ण सहयोग पुगेको सहभागीहरूले बताएका थिए।समापन कार्यक्रममा प्रधानाध्यापकहरूको तर्फबाट डम्बर श्रेष्ठ, सिकाइ केन्द्रहरूको तर्फबाट मालिकदेवी सिकाइ केन्द्रका अध्यक्ष यज्ञप्रसाद दङ्गाल तथा स्थानीय तहको तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाका शिक्षा सुपरिवेक्षक राजु पराजुलीले कार्यक्रमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनमा आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको समापन गर्दै प्रमुख सहजकर्ता रुद्रहरि भण्डारीले तयार गरिएका कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सहभागीलाई आग्रह गर्नुभयो। उहाँले प्रत्येक बालबालिकालाई विद्यालयको पहुँचमा ल्याई गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा समन्वय, उत्तरदायित्व र निरन्तर अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।दुईदिने सहजीकरण कार्यक्रमले अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि साझा बुझाइ विकास गर्नुका साथै विद्यालय, स्थानीय तह, सिकाइ केन्द्र तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाएको आयोजक शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकले जनाएको छ। कार्यक्रमबाट तयार भएका कार्ययोजनाहरू सम्बन्धित स्थानीय तह तथा विद्यालयहरूले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। यसले जिल्लामा सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्दै गुणस्तरीय, समावेशी र प्रभावकारी विद्यालय शिक्षा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
