सम्पर्क

गोल्मादेवी माविमा नयाँ व्यवस्थापन समिति गठन

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुर स्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ । विद्यालयमा आयोजित अभिभावक भेलाले अभिभावक प्रतिनिधिहरूको सहमतिमा नयाँ नेतृत्व चयन गर्दै विद्यालयको आगामी शैक्षिक तथा संस्थागत विकासको जिम्मेवारी सुम्पिएको हो । वडा सदस्य सिर्जना तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष विष्णु लामा प्रमुख अतिथि तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम तामाङ विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक,समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । भेलाले सरोज लामालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा हुनुभएको हो । कामना तामाङ, अम्बिका कार्की र रेश्मा तामाङलाई सदसयमा सर्वसम्मत चयन गरेको हो । सर्वसम्मतिबाट नेतृत्व चयन हुनु विद्यालयप्रति समुदायको विश्वास, एकता र सहकार्यको सकारात्मक उदाहरण भएको सहभागीहरूको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षता गरिरहनुभएकी वडा सदस्य सिर्जना तामाङले विद्यालयको शैक्षिक गुणस्तर सुधार, सुशासन कायम गर्न तथा समग्र विकासलाई गति दिन विद्यालय व्यवस्थापन समितिको भूमिका अत्यन्त महत्वपूर्णे रहने बताउनुभयो । प्रमुख अतिथि विष्णु लामाले विद्यालयको विकासको लागि अभिभावक, शिक्षक ,स्थानीय सरकार र समुदायबीचको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । निवर्तमान अध्यक्ष रेशम तामाङले नयाँ समितिलाई आवश्यक सहयोग र अनुभव साझागर्न सबैप्रति धन्यवाद व्यक्त गर्दै नयाँ समितिलाई आवश्यक सुझाव र सहयोग उपलब्ध गराउन सधैँ तयार रहने प्रतिबद्धता जनाउनुभयो । विद्यालयको निरन्तर प्रगति नै सबैको साझा उद्देश्य हुनुपर्ने उहाँको भनाइ थियो। नवनिर्वाचित अध्यक्ष सरोज लामाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण, भौतिक पूर्वाधार विस्तार तथा समुदायसँगको समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयलाई पारदर्शी, व्यवस्थित र उपलब्धिमूलक शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्षको साथ आवश्यक रहने उहाँले बताउनुभयो । भेलामा सहभागी अभिभावकहरूले सर्वसम्मत रूपमा समिति गठन हुनु विद्यालयका लागि सकारात्मक सुरुआत भएको प्रतिक्रिया दिएका थिए। विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनीहरूले व्यक्त गरेका थिए । कार्यक्रमका क्रममा विद्यालयको वर्तमान शैक्षिक अवस्था, आगामी योजना, विद्यार्थीहरूको सिकाइ उपलब्धि तथा भविष्यका विकास कार्यक्रमबारे पनि छलफल गरिएको थियो । अन्त्यमा नवगठित अध्यक्ष तथा सदस्यहरुलाई बधाई दिँदै विद्यालयको शैक्षिक, भौतिक र संस्थागत विकासमा प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।