सम्पर्क

पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि दुवै स्थानीय तहले औपचारिक रुपमा पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, सामाजिक विकास समिति संयोजक काले गोले, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष नारायण भट्टराई लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै पूर्णखोपको अवस्था कायम राख्न गाउँपालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष अधिकारीले स्वस्थ र सक्षम नागरिक निर्माणका लागि खोप कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउँदै समुदायस्तरमा स्वास्थ्य सचेतना विस्तार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
सामाजिक विकास समिति संयोजक काले गोलेले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाहरूको सक्रियताका कारण पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा जोड दिइने जानकारी दिनुभयो ।
सो अवसरमा स्वास्थ्य क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि योगदान पु¥याएका महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट कार्यसम्पादन गरेका स्वास्थ्य कर्मी तथा बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई सम्मान गरिएको थियो । बरुवा स्वास्थ्य चौकीमा कार्यरत कमला थापा मगरसहित ९जना स्वास्थ्य कर्मीलाई उत्कृष्ट कार्यसम्पादन लागि सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो ।
यस्तै, इन्द्रावती गाउँपालिकाले पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रसासकिय अधिकृत ,सबै वडाका अध्यक्ष ज्युहरु ,स्वास्थ्यकर्मी, विद्यालयका प्रधनाध्यापक , विभिन्न शाखाका कर्मचारी तथा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृतको उपस्थितिमा घोषणा कार्यक्रम सम्पन्न भएको हो । दुवै गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको अवस्थालाई निरन्तर कायम राख्दै नियमित खोप सेवामार्फत बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएका छन् । कार्यक्रममा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक तथा चेतनामूलक प्रस्तुति समेत गरिएको थियो ।