सम्पर्क

फस्ट स्टेप्सको आत्मरक्षा तालिम पानीचौरमा सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको चौतारा साङ्गाचोकगढी नगरपालिकाभित्रका माध्यमिक तहका शिक्षक तथा फोकल शिक्षकहरूको सक्रिय सहभागितामा तीन दिने आवासीय आत्मरक्षा तालिम कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम आज प्रमाणपत्र वितरणसँगै सम्पन्न भएको हो । चौतारा साँगाचोकगढी नगर पालिका वडा न ११ ज्योति डाडा पानीचौर मा रहेको फस्ट स्टेप्स नेपालको तालिम सभाहल मा फस्ट स्टेप्स नेपालले २०८३ साल जेठ १ गतेदेखि सञ्चालन गरिएको आज समापन भएको हो । उक्त तालिम कार्यक्रमले सहभागी शिक्षकहरूमा आत्मरक्षा सम्बन्धी ज्ञान, सीप तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै आयोजक संस्थाका प्रतिनिधिहरूले विद्यालय तथा समुदायमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस्ता आत्मरक्षा तालिम अत्यन्त आवश्यक र प्रभावकारी भएको बताएका थिए। विशेषगरी विद्यालयमा अध्ययनरत किशोरी तथा बालबालिकाको सुरक्षा, आत्मविश्वास वृद्धि र जोखिम व्यवस्थापनका लागि शिक्षकहरूलाई समेत व्यवहारिक तालिम प्रदान गर्नु समयको आवश्यकता रहेको धारणा व्यक्त गरिएको थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त आवासीय तालिममा आत्मरक्षाका आधारभूत सिद्धान्त, आकस्मिक परिस्थितिमा अपनाउनुपर्ने सावधानी, मानसिक सशक्तीकरण, व्यक्तिगत सुरक्षा सचेतना तथा व्यावहारिक आत्मरक्षा अभ्यास समावेश गरिएको थियो। प्रशिक्षक म्यामहरूले सहभागीहरूलाई व्यवहारिक अभ्यासमार्फत दैनिक जीवनमा आइपर्न सक्ने विभिन्न जोखिमपूर्ण अवस्थाबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए। सहभागी शिक्षकहरूले पनि तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा चौतारा साङ्गाचोकगढी नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत माध्यमिक तहका शिक्षकहरू तथा शिक्षा क्षेत्रसँग सम्बन्धित फोकल शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयमा विद्यार्थीहरूलाई सुरक्षित वातावरण प्रदान गर्न शिक्षक स्वयं सचेत र सक्षम हुनुपर्ने आवश्यकता औंल्याउँदै यस्तो तालिमले आफूहरूलाई नयाँ अनुभव र सीप प्रदान गरेको बताएका थिए। विशेषगरी किशोरकिशोरीहरूमा बढ्दो हिंसा, दुव्र्यवहार तथा असुरक्षाका घटनालाई न्यूनीकरण गर्न आत्मरक्षा शिक्षा प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूको भनाइ थियो।
समापन कार्यक्रममा बोल्दै विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरूले यस्ता तालिम कार्यक्रमले शिक्षकमात्र नभई विद्यार्थीहरूमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनीहरूले विद्यालय तहमा आत्मरक्षा शिक्षा विस्तार गर्नुपर्ने तथा नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। सहभागीहरूले तालिम अवधिभर सिकेका सीपलाई विद्यालय तथा समुदायस्तरमा समेत विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनुहुने संस्थाका सम्पूर्ण सदस्यहरू, कर्मचारीहरू, प्रशिक्षक म्यामहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने आदरणीय शिक्षक मित्रहरूप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी तथा उपलब्धिमूलक बनाउन सबै पक्षको सहकार्य महत्वपूर्ण रहेको आयोजकको भनाइ थियो।
यस तालिमले सहभागीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै व्यक्तिगत सुरक्षा सचेतना र आत्मरक्षा सम्बन्धी व्यवहारिक सीप विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको छ। विशेषगरी शिक्षकहरू स्वयं सशक्त भएमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पनि सुरक्षित, अनुशासित तथा आत्मविश्वासी बनाउन सहज हुने अपेक्षा गरिएको छ। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा विद्यार्थीहरूलाई समेत हस्तान्तरण गर्ने बताएका छन्।कार्यक्रमको अन्त्यमा आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी, व्यवहारिक तथा उपयोगी तालिम कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको क्षमता विकास, सुरक्षा सचेतना तथा नेतृत्व अभिवृद्धिका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै विद्यालयलाई अझ सुरक्षित, मर्यादित तथा बालमैत्री वातावरण बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको सहभागी गोल्मादेबी माबीका प्रअ ज्ञान बहादुर तामाङले जानकारी दिनु भयो ।