सम्पर्क

मार्मिङ माविमा माध्यमिक शिक्षा परिक्षा (SEE ) नतिजापछि गम्भीर समिक्षा शैक्षिक सुधारका लागि सबै पक्षको साझा प्रतिबद्धता

भोटेकोशी गाउँपालिका–५ स्थित मार्मिङ माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परिक्षा ( क्भ्भ्) को नतिजा अपेक्षाअनुसार नआएपछि विद्यालयको शैक्षिक अवस्था, चुनौती र सुधारका उपायबारे व्यापक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक तथा विद्यार्थीबीच खुला छलफल गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावात्यम्बा शेर्पाले विद्यालयले सीमित स्रोतसाधनका बाबजुद विद्यार्थीको शैक्षिक सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो। उहाँका अनुसार गोल्ची, पोखरी र छ्यादी क्षेत्रका विद्यार्थीहरूलाई परीक्षा अवधिभर विद्यालयमै निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरिएको थियो भने परीक्षा केन्द्र झिर्पुसम्म पुग्न आउजाउका लागि यातायात सुविधा समेत उपलब्ध गराइएको थियो। यति धेरै प्रयास हुँदाहुँदै पनि नतिजा सन्तोषजनक आउन नसक्नु दुःखद भएको उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष सिमी शेर्पाले विद्यालय सुधारमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै धेरै अभिभावक विद्यालयका कार्यक्रम, अभिभावक भेला, नतिजा प्रकाशन तथा शैक्षिक गतिविधिमा सहभागी नहुने प्रवृत्ति रहेको गुनासो गर्नुभयो। बालबालिकाको पढाइप्रति घरपरिवारको पर्याप्त चासो नहुनु पनि कमजोर नतिजाको प्रमुख कारणमध्ये एक भएको उहाँको धारणा थियो।
विद्यालयका प्रधानाध्यापक भक्त बहादुर लामा ले विद्यालयले भोगिरहेका संरचनागत तथा प्राविधिक समस्याबारे जानकारी गराउँदै विशेष गरी स्थायी दरबन्दी शिक्षक नहुनु, गणित र विज्ञान विषय शिक्षक ३÷४ पटकको विज्ञापन पछि मात्रै पाएको र पाएकालाई पनि टिकाउन नसक्नुले शिक्षण सिकाइमा प्रत्यक्ष असर परेको बताउनु भयो। लामो समयसम्म शिक्षक रिक्त हुँदा तल्लो तहका शिक्षकले माथिल्लो कक्षाको जिम्मेवारी सम्हाल्नुपरेको अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो। आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कक्षा १० का विद्यार्थीका लागि होस्टेल सञ्चालन, अतिरिक्त कक्षा, सहायता सिकाइ कार्यक्रम तथा नियमित शैक्षिक अनुगमनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कक्षा शिक्षक अर्जुन साहले केही विद्यार्थी नियमित रूपमा कक्षामा उपस्थित नहुने, ट्युसन तथा कोचिङ कक्षामा सहभागी नहुने, सहभागी भएकाहरूले समेत शुल्क नतिर्ने जस्ता समस्याले शिक्षण प्रक्रियामा असर पुगेको बताउनु भयो। पटक–पटक सम्पर्क गर्दा अभिभावकसँग भेट हुन नसकेको उहाँको गुनासो थियो।
यस वर्ष विद्यालयबाट एसइई परीक्षामा सहभागी १५ जना विद्यार्थीमध्ये १० जना अनुत्तीर्ण भएका छन्। परीक्षा केन्द्र झिर्पु माध्यमिक विद्यालयमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो। केही सक्षम तथा राम्रो तयारी गरेका विद्यार्थीसमेत अनुत्तीर्ण भएपछि विद्यार्थीहरूले कापी पुनः परीक्षण तथा रि–टोटलिङ गर्ने भएका छन्।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाले शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यक परे थप लगानी गर्न समेत आफू तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्ष जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिँदै समस्याको समाधान सामूहिक प्रयासबाट मात्रै सम्भव हुने बताउनुभयो।
समिक्षा कार्यक्रमले विद्यालयको वर्तमान अवस्था, चुनौती तथा सुधारका सम्भावनाबारे गम्भीर बहस गर्दै आगामी दिनमा मार्मिङ माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ