मेलम्ची नगरपालिकाको आर्थिक सहयोग, समन्वय तथा मेलम्ची नगर उद्योग वाणिज्य संघको आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १, २, ३ र ४ का व्यवसायी, उपभोक्ता तथा सरोकारवालाहरुका लागि कर शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिका वडा नं. १ स्थित भोटेचौरमा आयोजित उक्त कार्यक्रम मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको अध्यक्षता तथा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले कर प्रणालीप्रति व्यवसायीहरूलाई सचेत, जिम्मेवार र पारदर्शी बन्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन करदाताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै, “व्यवसायलाई व्यवस्थित, सुरक्षित र दीगो बनाउन कर सम्बन्धी ज्ञान अनिवार्य रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले व्यवसायीहरूलाई कानुनी प्रक्रियाबारे जानकारी दिनुका साथै आर्थिक अनुशासन कायम गर्न सहयोग पु¥याउँने बताउनुभयो । उप प्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले व्यवसायीहरूको क्षमता अभिवृद्धि, कर प्रणालीप्रति सकारात्मक धारणा विकास तथा स्थानीय आर्थिक गतिविधिलाई सशक्त बनाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, धुलिखेलका कर अधिकृत रमेश न्यौपाने र टिकाराम शर्माले प्यान, भ्याट दर्ता, खारेजी लगायत कर शिक्षा सम्बन्धी विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
भने कृषि विकास बैंक लिमिटेड, मेलम्ची शाखाका प्रबन्धक प्रज्वल भट्टराईले व्यवसायीहरूलाई वित्तीय साक्षरतासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।
मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले आर्थिक ऐनमा समेटिएका करका दरहरू तथा स्थानीय तहले संकलन गर्ने राजस्व सम्बन्धी जानकारी गराउँदै आगामी कार्यक्रमहरूको जानकारी पनि दिनुभयो ।
उहाँका अनुसार, नगरपालिकाले मिति जेठ ५ गते बाहुनेपाटी बजारमा कर शिक्षा कार्यक्रम तथा जेठ ६ गते मेलम्चीमा आर्थिक ऐनका विषयमा व्यवसायीहरूसँग छलफल कार्यक्रम आयोजना गर्नेछ, जसका लागि सम्बन्धित वडा कार्यालयमार्फत व्यवसायीहरूलाई पत्राचार गरिसकिएको छ ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले प्यान, भ्याट दर्ता, खारेजी तथा अन्य कर सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको भन्दै मेलम्ची नगरपालिकाप्रति धन्यवाद व्यक्त गरेका थिए। स्थानीय व्यवसायीहरूको करसम्बन्धी ज्ञान अभिवृद्धि र वित्तीय सशक्तीकरणमा कार्यक्रम फलदायी भएको सहभागीहरूको भनाइ रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर १ २ र ३ का वडा अध्यक्ष कृष्ण मुरारी चौलागाईं नगेन्द्र प्रसाद खतिवडा र कुमार बन्जरा कार्यपालिका सदस्य गोमा दुलाल लगाएतको उपस्थिति रहेको थियो ।
