आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा क्षेत्र नं १ र २ मा यसपटक समान १८÷१८जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धसपाल्चोकमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियानमा छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरू भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ ।
जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् । अन्यसमयमा शहरमा विलासी जीवन विताउने नेताहरु निर्वाचनको समय भने एक दुई महिना गाउँमै विताउने गरेको मतदाताहरुको भनाई छ । चुनाव सकिएको भोली पल्टदेखि उनीहरु गाउँमा आउदैनन यो पुरानौ प्रचलन बनेको छ । झनै पुराना ठुला दलका नेताहरु गाउँमा कमै मात्रामा आउने गरेको र सहर पुगेर भेट्नपनि मुस्किल हुने गरेको मेलम्ची नगरपालिका –९ ज्यामिरेका रामबाबु विष्ट बताउनुहुन्छ ।
जिल्लाका गाउँबस्तीमा भने नर्वाचनको उत्साह देखिदैन । उम्मेदवारहरु गाउँवस्ती पुगेपनी अधिकाँश बस्ती रित्तो जस्तै देखिन्छ । गाउँमा भेटिने मतदातामध्ये धेरैजसो जेष्ठ नागरिक छन् । युवापुस्ता रोजगारी र अबसरको खोजीमा राजधानी काठामाडौं वा बैदेशिक रोजगारीतर्फ लागेकाले गाउँमा सक्रिय मतदाताको उपस्थिति न्यून छ । यसैले गाउँमा चसनावी रौनक कम देखिएको ईन्द्रावती गाउँपालिका –६ बाडेगाउँका सोमबहादुर तामाङ बताउनुहुन्छ ।
जिल्लाका सहर हुन् वा गाउँघरका चिया पसलमा राजनीतिक चर्चा परिचर्चा चल्न थालेको छ । कतिपय उम्मेदवार मतदातालाई भेट्न खेतबारीमै पुग्न थालेका छन् ।
मतदाताले आफ्नो रोजाइमा परेका उम्मेदवारको चर्चासमेत सुरु गरेका छन् । राजनीतिक दल र उम्मेदवार कार्यकर्तासहित गाउँ गाउँमा भोट माग्न व्यस्त रहँदा मतदातामा उत्साह देखिएको छैन ।
