इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव तथा २६ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ लगायतको उपास्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयत्न जरुरी रहेको बताउनुभयो । एक पक्षले मात्र शिक्षा सुधार नहुने भएकाले अभिभावक , शिक्षक , विद्यार्थी र सरोकारवालाको सहकार्यले मात्र गुणस्तर कायम गर्न सकिने बताउनुभयो । कार्यक्रमको अवसरमा जिल्लाका दुईजना पत्रकारहरू सम्मानित भएका छन्। एक दशकदेखि पत्रकारितामा क्रियासिल पत्रकार दिपक खत्री र विजय नेपाल हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८१ बाट सम्मानित हुनुभएको हो । अनाथ बालबालिकाको शैक्षिक गतिविधि र विभिन्न सामाजिक सेवामा योगदान गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले खत्री र नेपाललाई पाँच हजार एक सय नगदसहितसम्मान गरेको हो। विजय नेपाल खुल्लापाना डटकममा, दीपक खत्री रेडियो सिन्धु र न्यूज २४ टेलिभिजन कार्यरत हुनुहुन्छ । त्यस्तै साहित्य तथा कवितामार्फत समाजलाई चेतना प्रदान गर्दै आएका कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ (मेलम्ची–१३, फाटकशिला) तथा शिक्षण पेशामार्फत विद्यार्थी निर्माणमा योगदान पु¥याउँदै आएका कपिल कृष्ण श्रेष्ठ (शिक्षक, श्री इन्द्रेश्वरी मावि) लाई पनि सम्मान गरिएको हो । संस्थाले इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची ११ का ९ जना छात्र–छात्रालाई प्रदान गर्दै आएको वार्षिक छात्रवृत्तिका समेत वितरण गरेको छ । कार्यक्रमले शिक्षा, पत्रकारिता, साहित्य र शिक्षण पेशामा योगदान पु¥याउने व्यक्तित्वहरूको कदर गर्नुका साथै विद्यार्थीहरूलाई प्रेरणा दिने विश्वास आयोजक संस्थाले लिएको छ । संस्थाले प्रत्येक वर्ष जिल्लामा क्रियाशील पत्रकार र साहित्यकारलाई सो पुरस्कारद्वारा सम्मान गर्दै आएको संस्थाका सचिव सुदर्शन पाण्डेले बताउनुभयो। । हुतराज र अर्धचन्द्र पाण्डेले मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका लागि तीन रोपनी जमिन दान गरेका थिए । नेपाल प्रहरीका पूर्वएआइजी गंगा पाण्डे, पूर्वएसपी सुदर्शन पाण्डे, मुरारी पाण्डे र शम्भु पाण्डेले दिवंगत पिताको नाममा ०६८ मा परोपकारी संस्था स्थापना गरेका थिए । संस्थाले बाढीपहिरोपीडित, दृष्टिविहीन, अशक्त, अनाथ र वृद्धवृद्धालाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । यसका अलावा पत्रकार, साहित्यकारलाई योगदानको आधारमा छनोट गरेर पुरस्कृत पनि गर्दै आएको छ। विद्यालयको ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक भेलामा बिद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानीमैया पण्डितको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो ।
Write to Devraj Subedi
