चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मी सँगै बसेर काम गर्न सक्ने छन् ।मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनु भयो । आजैदेखि जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।खास गरी मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई लाभ दिने विश्वास महासंघ जिल्ला शाखाका अध्यक्ष ध्रुव दङ्गालले गर्नु भयो ।
मिडिया हाउसको व्यवस्थाले मतगणनास्थलमा एकैपटक हुने सञ्चारकर्मीहरुको भिडलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।मिडिया हाउस स्थापनाको लागि महासंघ जिल्ला शाखाले मुख्य निर्वाचन अधिकृतको कार्यालयप्रति धन्यवाद ज्ञापन गरेको छ । रिपोर्टिङमा सञ्चारकर्मीहरुलाई सहजता पु¥याउने उद्देश्यले मतदानको दिनको लागि बितरण गरिने सवारी पास, मतगणनाको समयको लागि मतगणनास्थल प्रवेश पास बितरण गर्ने लगायत काममा शाखाले सम्वन्धित निकायसँग सहजीकरण गरिरहेको छ ।जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको छ ।-पत्रकार महासघबाट
