सम्पर्क

शिक्षा सबैको जन्मसिद्ध अधिकार, सशक्तिकरणमा कुनै कसर बाँकी रहने छैन: नगर प्रमुख तामाङ

मेलम्ची, सिन्धुपाल्चोक । शिक्षालाई सबै नागरिकको जन्मसिद्ध अधिकारका रूपमा व्याख्या गर्दै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले शिक्षा क्षेत्र सुदृढीकरणका लागि नगरपालिकाले आवश्यक पर्ने कुनै पनि मूल्य चुकाउन पछि नपर्ने बताउनु भएको छ । आइतबार श्री क्यौले ठाना आधारभूत विद्यालयमा आयोजित न्यानो कपडा, झोला तथा खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै उँहाले शिक्षा क्षेत्रमा लगानी गर्नु दीगो विकासको आधार भएको बताउँनु भएको हो । प्रमुख अतिथीको आशनबाट बोल्दै नगर प्रमुख तामाङले विद्यालय, विद्यार्थी र शिक्षकलाई आवश्यक पर्ने सामग्री तथा सुविधालाई नगरपालिकाले निरन्तरता दिएको स्मरण गराउँदैं समृद्ध र शिक्षित समाज निर्माण हाम्रो सामूहिक लक्ष्य रहेकोले सबै अभिभावकले बालबालिकालाई पठनपाठनका लागि नियमित विद्यालय पठाउन आग्रह गर्नु भयो । कार्यक्रम विद्यालयका पूर्वविद्यार्थी तथा पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य एवम् समाजसेवी सचिन तामाङ (पाख्रिन) र पूर्व शिक्षिका आस्मा तामाङ (पाख्रिन) को पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका पर्सा जिल्ला निवासी शान्त घलेको सहयोगमा बालविकास कक्षा देखि कक्षा ८ सम्म अध्ययनरत १०४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । यस्तै, बौद्ध स्पोट्र्सका सञ्चालक राधिका तामाङ र सुनिल दोङ तामाङले विद्यालयलाई विभिन्न खेलकुद सामग्री र विद्यालय व्यवस्थापन समितिका सदस्य सोमाली तामाङले शिक्षकहरूको लागि झोला हस्तान्तरण गर्दै शैक्षिक वातावरण सुधारमा योगदान गरेका थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तह, समुदाय तथा प्रवासी नेपालीबीचको सहकार्यले गुणस्तरीय र सकारात्मक शैक्षिक सुधारमा थप सहयोग पुगेको प्रधानाध्यापक भरत कुमार मल्लले बताउनु भएको नगर सचिबालयका मानकाजी पाख्रीनले जानकारी दिनु भयो ।