धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला आज देखी शुरु भएको छ । प्रत्येक कात्तिक पूर्णिमाको दिन देखि शुरु भई पञ्चमीका दिन सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने हुँदा यो जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो ।
मेला अवधिभर मन्दिर आसपास मदिरा बिक्री वितरण निषेध गरिएको छ । मेलामा हुलदंगा र अप्रिय घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।। सदरमुकाम चौताराबाट चार किमी उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिर सम्म पुग्न यातायातको समेत सुविधा छ । चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनःफर्काइन्छ र गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । यस बर्ष आज राती ११बजे रथ लैजाने कार्यक्रम छ भने भोली बिहान बजार ल्याएर घरघरमा पुजाको ब्यवस्था मिलाइउको छ । त्यसपछि सिन्दुरे जात्रा सहित मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजा समेत हुने प्रचलन छ ।किंवदन्ती अनुसार पौराणिक कालमा जंगल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्थे । गाईले राति राति एउटा ढिस्कामा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तध्र्यान भएकाले सोही समय देखि पूजाआजा गर्ने चलन चलेको हो । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौराती र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको बताइन्छ ।

धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणका रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा वि.सं १६४२ मा चढाएको ढलोटको घण्टाका आधारमा ४३२ वर्ष पहिले देखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्वार गरिँदै आए पनि वि.सं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । १४ लाख रुपैयाँ लागतमा पुनर्निमाण गरिएको मन्दिरको तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्यले २०५३ मंसिर २ गते शिलाअनावरण गर्नु भएको हो । तत्कालिन राजा रानीबाट रोपिएको रुद्राक्षको बोटलाई अहिले पनि स्थानीयले उँहाहरुको चिनो र पहीचानको रुपमा मान्ने गरेका छन् । त्यसै बेला मन्दिर परिसरमा लक्ष्मी र महाकालीको मन्दिर पनि निर्माण गरिएको थियो ।अहीले सम्म त्यहाँ स्व राजा रानीको नाम रहेको छ । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिने उक्त स्थानमा हुने मेला भर्न चितवन,दोलखा, काभ्रे, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौंलगायत देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ले आजै अपरान्ह ४बजे नगर बासी तथा जिल्ला स्थित सरकारी कार्यलयका कर्मचारीहरुरुलाइ प्रसाद बितरण गर्ने गरेको छ । यस बर्ष पनी उक्त कार्यलाइ निरन्तरता दिइएको वडा अध्यक्ष शिब श्रेष्ठले बताउँनु भयो । स्थानीय सरकारले पुजा नगरी अरु बाट पुजा नहुने भएकाले बिहान ११बजे वडा नं ५को कार्यलयले पुजा गरे पछी अरु गुठीयारहरुका लागी पनी पुजा खुल्ला हुने छ । उँहाका अनुसार आज बिहान ११ पुजा गरि सके पछी साँझ ३ः४५ बजे प्रसादबितरण गरिने कार्यक्रम रहेको छ ।

नेवार समुदायका गुठियारले पञ्चैबाजासहित रथ कतै नरोकी चुँदुवाडाँडा पु¥याउँछन् । गौरातिबाट आएका गुठियारले त्यहाँ बलि दिएर स्वागत पूजा गर्छन् । त्यसपछि गुठियारको घर–घरमा बिसाउँदै गौराति पु¥याएर भीमसेन र भीमेश्वरको मिलन गराइन्छ । पूर्णिमाको भोलिपल्ट अगाली पूजा गरिन्छ ,भक्तजनहरु पूजाआजा गर्छन्, गुठियारहरुले बलि दिन्छन् । त्यसपछि काटमार बन्द हुन्छ ।बिदाई पूजाका साथ भीमसेनको रथलाई बेलुकी पख पुनः सदरमुकाम ल्याइन्छ । रथका भीमसेनलाई जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी अधिकारीले पनि बलि चढाई पूजा गर्छन । अदालतको पूजा सवै भन्दा पुरानो हो । सरकारी कार्यालयको पूजा पछि गुठीयारको घर–घरमा विसाउँदै तीन दिनपछि भीमसेनलाई मन्दिरमा भित्र्याएपछि गौराति मेला सकिन्छ । चौतारावाशीले पर्वकै रुपमा चोक चोकमा चँदुवा टाँगेर रथको पूजा आजा गर्दै बोका बलि दिन्छन् ।अन्य बेला स्थानीय पूजारीले नियमित पूजा गर्ने भिमेश्वरमा मेलाका बेला भने मुल पुरेत आचाजु जातीका नेवारले पूजा गर्ने गर्दछन् । त्यतिबेला गौरातिमा मात्र हैन चौतारा भिमसेनको पूजा समेत तीनै आचाजुले गर्ने गरेको स्थानीयको भनाई छ ।मेला सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागी स्थानीय युवाक्लब, सघं सस्थाहरु लागी परेका वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । जिल्ला स्थित सरकारी कार्यलयका प्रमुखहरु सबैले त्यहाँ पुजा गरेर प्रसाद ग्रहण गर्ने परम्परा छ भने नगरपालिकाले आज सार्बजनीक बिदा समेत दिएको छ मनोकांक्षा पूरा हुने र शक्ति प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु भक्तिपूर्वक भीमेश्वरको पूजाअर्चना गर्छन् । मुलुकका विभिन्न स्थानबाट हजारौं भक्तजनहरु आउँछन् । सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कामय राख्दै मेलालाई दसैं, तिहार जत्तिकै महत्वपूर्ण चाडका रुपमा मनाउँछन् ।जिल्लाकै ठूलो पर्व मानिएकाले यहाँका सबै शैक्षिक संस्थामा सार्वजनिक विदा दिने प्रचलन छ । गौराति भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । बृद्ध हुन् या केटाकेटी, युवायुवती हुन् या अधबैंसे सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् । कात्तिक पूर्णिमाका दिन मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु जाग्राम बस्छन् । मनोकांक्षा पूरा गर्न भक्तजनहरुले भीमेश्वरमा बत्ती बाल्ने र पशुबलि दिने भाकल पहिल्यै गरेका हुन्छन् ।
आज बिहानैदेखि मन्दिर आसपासमा बत्ती बाल्नेहरु को भिड हुन्छ। कसैले आफ्नो मनौती मनाउन पाँचै बाजासहित भीमेश्वरलाई बलि दिने र विवाहित युवायुवतीले सन्तान नहुँदै बोकाको बलि चढाउने गर्छन् । मन्दिरमा पूर्णिमाका पाँचदिन अघिदेखि पाँचदिन पछिसम्म बत्ती बालिन्छ ।चौतारा सागाचोकगढि नगरपालिकाको समन्वय ,चौतारा सागाचोकगढि नगरपालिका वडा न ६ को सहयोग र गौराती भिमसेन युथ क्लब को आयोजनामा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका कलाकारबाट वृहत सास्कृतिक कार्यक्रम समेत हुने भएको छ ।
