सम्पर्क

सडकमा लगानी, बालुवामा पानी

रुपक पुरी ÷चौतारा
सडकले नै समृद्धि ल्याउने कुरामा दुईमत छैन । तर सिन्धुपाल्चोकका अधिकाँश सडक वर्षासँगै हिलाम्मे भएका छन् । स्थानीय तहले बनाएका शाखा सडकको त कुरा छोडौं, जिल्लाका मुख्य सडकहरु पनि वर्षाका कारण राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै बिना योजना निर्माण गरिँदा वर्षैपिच्छे स्तरोन्नतिका नाममा अनावश्यक बजेट सक्ने माध्यम बन्दै आएका छन् ।गाउँमा सडक पु¥याउन स्थानीय तहले विकास बजेटको ५० देखि ८० प्रतिशतसम्म लगानी गर्छन् । त्यति मात्रै होइन, प्रदेश तथा केन्द्र सरकार, निर्वाचन पूर्वाधार विशेष कार्यक्रममा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन् । तर, सडकमा बर्षेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ । बाह्रै महिना सञ्चालन हुने सडकको दूरी मुस्किलले ८० किमि जति छ । ‘हाम्रो तथ्यांकमा बाह्रै महिना चल्ने सडक भनेको त्यस्तै ७५–८० किलोमिटर मात्रै हो,’ पूर्वाधार विकास कार्यालय प्रमुख भरत कुमार यादब भन्नुहुन्छ ‘टोलटोलमा खनिएका सडकका कारण मुख्य सडक र भूक्षयमा गम्भीर असर परेको छ ।’ ठूलो बजेट नहुने स्थानीय सरकारले सडकमा धेरै लगानी गर्न नसकेका कारण टोलटोलमा खनेका सडकले विनाश थपेको उहाँको तर्क छ । यसलाई प्रदेश तथा केन्द्र सरकारले नियमन गर्न जरुरी रहेको यादव बताउनुहुन्छ ।अविरल वर्षाको कारण पहिरो खस्दा मण्डनदेउपुर– ७ स्थित हेलम्बु राजमार्ग पूर्ण रूपले अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरो खसी हेलम्बु राजमार्गको हिंगुवापाटी–कुन्ताबेँसीखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।हिंगुवापाटी प्रहरी चौकीका अनुसार करिब तीन सय मिटर अगाडि पहिरोले हेलम्बु राजमार्गको हिंगुवापाटी–कुन्ताबेँसीखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।हिंगुवापाटी चोकबाट नगर अस्पतालतर्फको सडक हुँदै कुन्ताबेँसी–नर्सरी वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय र मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधिहरू खटिएका छन् ।अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका ग्रामीण सडकहरु नवलपुर –चौतारा सडक, जलविरे –चौतारा सडक , मेलम्ची –भोताङ सडक, मेलम्ची – बरुवा सडक, हेलम्बु , पिस्कर लगायत स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।स्थानीय सरकारले धमाधम ग्रामीण सडक निर्माण गर्दा एकातिर बजेटको दुरुपयोग भईरहेको छ भने अर्को तिर दुर्घटनाको जोखिम पनि बढिरहेको छ । दिर्घकालीन योजना विना नै निर्माण भईरहेका सडक बर्ष दिन पनि काम नलाग्ने अवस्थामा छन् ।जिल्लाका पहाडी क्षेत्रमा बनाइएका सडक वर्षाका कारण बगेर गएका छन् । ग्रामीण सडक निर्माणकै लागि एउटै योजनामा लाखौं रुपैया वजेट बिनियोजन गरिएको छ । तर बनेका अधिकाँश सडकको अवस्था भने दयनीय छ । योजना विना नै निर्माण भईरहेकाले सडकहरुमा आवतजावत गर्न त समस्या छ नै सार्वजनिक सवारी साधन चलाउन कसरी सम्भव होला भन्ने अवस्था छ । सडकका योजना ल्याएर कतिपय जनप्रतिनिधिहरुले आफ्नै लगानीमा खरिद गरिएका वा आफ्ना आफन्तका डोजरलाई काम दिलाएका छन् ।प्राविधिक मापदण्ड विपरित बनेका यस्ता सडकमा बर्षेनी मर्मतका लागि निर्माण गर्दाको भन्दा दोव्वर बजेट विनियोजन गर्नुपर्ने अवस्था पनि देखिने गरेको छ ।