बिश्व कम्युनिष्ट आन्दोलन र त्यसको एक अंग नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यो साझा सवाल, संयुक्त मोर्चा र संयुक्त आन्दोलनको प्रश्न बारम्बार उठेको र अहिले पनि अझ बढी सघनताकासाथ उठिरहेको प्रश्न हो । यसले जनताको बर्गीय र राजनीतिक आन्दोलनलाई सही दिशा र गति दिन आन्दोलनकारीहरु खाशगरी क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु सदैब प्रयत्नशील रहिरहनुपर्दछ, त्यसका आधारहरु पहिल्याउनु पर्दछ र त्यसको औचित्यता साबित गर्नु पर्दछ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा भएर आउने गरेको छ र अहिले अझ बढी तीब्र आवश्यकताकासाथ यो प्रश्न उठिरहेको छ ।
हुन पनि यो प्रश्न जनता र राष्ट्रका साझा समस्याको पहिचान र तिनको सही समाधानका लागि उठेको र उठ्ने प्रश्न हो र त्यसको सही उत्तरका लागि साझा समस्याको खोजी, त्यसको सही पहिचान र त्यसको सही निराकरणसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण र केन्द्रिय प्रश्न हो । आन्दोलनले सही दिशा र गति पाउछ कि पाउँदैन भन्ने प्रश्न पनि यही नै हो । वास्तवमा अरु जतिसुकै सामाजिक साँस्कृतिक रुपान्तरणका ठूल्ठूला कुरा गरे पनि यो मूलभूत सवालमा सही निष्कर्शमा नपुगी समस्याले सही निकास पाउँदैन नै । यो नेपाली जन आन्दोलन र त्यसमा पनि बिशेषतः कम्युनिष्ट आन्दोलनका सन्दर्भमा प्रष्ट देखिँदै र प्रमाणित हुँदै आएको बस्तुगत कुरा हो ।
समाजका बिभिन्न अन्तरबिरोधहरुमध्येमा मूल अन्तरबिरोध र त्यसको पनि मूल पक्षसँग सम्वन्धित अत्यन्तै महत्वपूर्ण प्रश्न हो यो । अनि यो संघर्षको नाममा जथाभावी संघर्ष चलाउने कुरा पनि होइन, संघर्ष सुसंगत, यसलाई परिचालन गर्ने नियमसंगत र समाजका अधिशासित (गभर्निङ्ग ल अफ सोसाइटी) नियम अनुरुप चल्ने एउटा संघर्षशील र अत्यन्तै प्रभावकारी हतियार पनि हो । यसले मूल अन्तर बिरोध र सहायक अन्तरबिरोधहरुलाई केलाउन, छुट्याउन र मूल अन्तरबिरोधको पनि मूल पक्षका बिरुद्ध सहायक अन्तरबिरोधहरु कसरी सहयोगी हुन सक्तछन् तिनको खोजी गर्न र तिनको सहयोग जुटाउन सकिन्छ र जुटाउनु हरदम प्रयत्न गर्नु पर्दछ भन्ने कुरा बुझ्न र तदनुरुप चल्नका लागि मार्गदर्शन गर्ने महत्वपूर्ण कुरा नै हो । यस वास्तबिकतालाई उपेक्षा गरेर आन्दोलन मूख्य कुरा हो अरु कुरा स्वतः त्यसले निर्धारण गर्दछ भन्ने किसिमले चल्दा आन्दोलनलाई सही दिशा र सही गति दिन पनि पटक्कै सकिदैन । यो बिश्व इतिहास र हाम्रै देशको इतिहासले पनि पटक पटक सिद्ध गर्दै आएको यथार्थ कुरा पनि हो ।
यस सन्दर्भ र परिप्रेक्षमा अरु अरु देशका आन्दोलनका मूल्यबान र प्रेरणास्पद असल परम्पराहरु पनि अनुकरणीय हुन्छन् नै । तर हामीले मूलतः हाम्रै देशका असल परम्पराहरुको अनुसरण गर्नु, सिक्नु र तिनलाई पुनर्जीबित गर्नु बढी उपयोगी र जीवन्त कुरा हुन्छ । किनकि हामीले हामी बसेकै समाज,सामाजिक परिबेश र सामाजिक समस्याहरुको समाधान खोज्नु छ । त्यसले हाम्रा देशका सही र गलत परम्पराको भेद र असललाई अघि बढाउने र गलतलाई रोक्ने सही बाटो देखाउँदछ । अरु समाजका क्रान्तिकारी अनुभवहरु, बर्गीय शोषण र सामाजिक उत्पीडनका समस्या हल गर्न महत्वपूर्ण तर सहायक र सहयोगी कुरा मात्र हुन्छन् । ‘अक्कल बिनाको नक्कल’ गरेर समस्या समाधान हुँदैन त्यसले ‘अक्कलगुम मात्र बनाउँदछ’ भन्ने कुरा त हामीलाई हाम्रा पूर्खाहरुले घर, परिबार समाजमा जहिले पनि बेला मौकामा औंल्याउने गर्दै भन्दै आएका कुरा पनि हुन् । हामीले ती कुराहरुबाट सिक्ने प्रयत्न गरेका छौं या छैनौं त्यो बेग्लै कुरा हो । कमरेड माओले ‘जनताबाट सिक र जनतलाई सिकाउ’ अर्थात ‘फ्रम द मासेस, टु द मासेस’ भन्नुको तात्पर्य पनि मूलतः यही नै हो । यस कुरालाई सबै अग्रगामी क्रान्तिकारी कम्युनिष्टहरुले गम्भीर महत्वकासाथ लिनु पर्दछ । कमरेड पुष्पलालले नेपाली जन आन्दोलनको समीक्षा गर्नु पनि यही सिक्ने सिकाउने प्रकृयाकै एउटा उपज हो । जनताका समस्या – असन्तोष, आलोचना, बिरोध, बिद्रोह हुँदै आमूल परिबर्तनको निर्णायक चरणतर्फ क्रान्ति अगाडि बढ्छ । यो क्रान्तिको सर्बमान्य तर गम्भीर महत्वको नियम र मान्यता हो ।
हुटहुटी, भावना, आवेग, सम्बेगहरु जस्ता मनोगत कुरा पनि सही ठाउँमा परेमा अबश्य तिनले सकारात्मक काम गर्न मद्दत पुर्याउँने कुरा हुन्छ नै । तर ती सबै सहायक कुरा मात्र हुन् । मूल कुरा त सही दृष्टिकोण, बिचार, सिद्धान्त, नीति र कार्यक्रमहरुको ब्यवहारिक समग्रता नै हो । जसको अभावमा अँध्यारोमा छामछाम छुमछुम गरेर हिड्नु जस्तै मात्र हुन्छ । जति हो–हल्ला गरेर दौडे पनि कही पुगिदैन । करोडौं कडोर पैसा खर्च गरेर कोरा र जाली(फेक) राजनीति चलाउने र एक वा अर्को किसिमले यथास्थितिमै अल्मल्याइराख्ने बाटोतिर लाग्ने हो भने कुरा बेग्लै हो । त्यो बर्तमान र भबिष्यका लागि समेत जनता र राष्ट्रको हित गर्ने बाटो होइन । बस्तुतः घातक बाटो हो ।
यी बिश्वका र नेपालका पनि अनुभवसिद्ध र आमूल परिबर्तनका लागि उपयोगी कुरालाई हामीले आज अझ बढी सघन र गहिराईपूर्बक अध्ययन, अनुसन्धान र अबलम्बन गर्न अग्रसर हुनै पर्दछ । नेपाली जनतामा भर पर्ने र नेपाली जनतमाथि नै बिश्वास गर्ने सही बाटो र उपायहरुको अभावमा आन्दोलनले जनता र राष्ट्रका जीवन्त र ज्वलन्त समस्या हल गर्न सक्तैन । यो कटु यथार्थलाइ त हामीले बितेका १७ बर्षयताका राजनीतिक गतिबिधिहरु,आर्थिक दुष्परिणामहरु, देश र जनताको नाजुकतर अबस्था र देशको स्वाधीनतालाई अझ तीब्ररुपमा खतरामा पर्दै गएको अबस्थाले प्रष्टसँग औंल्याइरहेको छ ।
तर यो एकाएक अहिलेको पछिल्लो डेढ दशकमा बनेको स्थिति भने होइन । बास्तविकता र कटु यथार्थ के हो भने पहिले देखिनै देश र जनतालाई कमजोर पार्न र नेपालबाट बढीभन्दा बढी नााफा निचोर्न बिश्व पूँजीवादी शक्तिले जुन बित्तीय पूँँजीको तीब्र नाफाखोरी मानब र प्रकृति द्रोही चुसाहा बाटो अख्त्यिार गरेको थियो त्यही बाटो १९८० को दशकदेखि पञ्चायती ब्यवस्थाका कर्ताधर्ता र रक्षकहरु हिडेका हुन् । ‘साप’ संरचनात्मक समायोजन कार्यक्रम(स्ट्रक्चरल एडजस्टमेण्ट प्रोग्राम) को माध्यमबाट बिकासमा अघि बढ्ने जुन बाटो त्यतिबेलादेखि अख्यितार गरियो त्यसलाई १९९० को परिबर्तन पछि झन तीब्ररुपमा नेपाली काग्रेस र एमालेहरुले काँध हाल्ने काम गरे । पञ्चायतलेभन्दा हामीहरु(काग्रेस र एमालेहरुले) ले यसलाई अझ तीब्र गतिमा अघि बढाउन सक्छाौ र बढाउनु पर्दछ भन्दै उनीहरुले राज्यले उद्योग खोल्ने होइन राज्यको काम त सहजीकरण मात्र हो भन्ने निर्देशित नीतिमा भरपरेर अब पुराना सिद्धान्त, बिचार र बादको कुरा होइन बजारले नै सबै कुरा निर्धारण गर्दछ भन्न थाले । यही क्रमलाई माओबादीले पनि अझ तीब्रतर रुपमा पछ्यायो । अर्थात पञ्चायतले पूँँजवादी बाह्य शक्तिहरुले नेपालको हित बिपरीत डिक्टेट गरिएका र निर्देशनमा चलेका निजीकरण, उदारीकरणा र बजारीकरणको जग बसाल्यो र त्यसलाई काँधमा बोकेर काग्रेस, एमाले र माओवादीहरु हिडे । पञ्चायतले हुलेको साम्रज्यबादी नीतिलाई उनीहरुले अझ बढाउँदै लगे ।
त्यसै क्रममा बिश्व शीत युद्धकालीन अबस्थाबाट गुज्रिरहेको र बिश्व समाज पूँजीवादी र समाजबादी प्रतिस्पद्र्धामा रहेका बेला त्यसबाट फाइदा उठाउदै राज्य स्तरमा खोलिएका कल काराखाना, उद्योगधन्धाहरुलाई निजीकरण गर्ने, बेच्ने क्रमले तीब्रता लियो । बिश्वब्यापीकरण(ग्लोबलाइजेशन)ले श्रमको शोषाण पूँजीको केन्द्रिकरण अझ तीब्र पार्दै गयो । बजारबाद र उपभोक्ताबादले मानिसहरुको मनोबृत्तिमा पनि ठूलो परिबर्तन ल्यायो । अग्रगामी परिबर्तनको राजनीतिलाई पनि पद, पैसा र प्रतिष्ठा अर्थात नाफाको निम्तिको खेल र जालझेलको राजनीतिमा खसालियो । आज यो क्रम अझ तीब्रतम हुन पुगेको छ । बिकासलागि प्रत्यक्ष बाह्य लगानी(एफडीआई) भन्दा अरु बाटो उनीहरुलाई सुझ्न छोडेको छ । यसरी नब औपनिबेकिश शोषणको शिकार र सम्पूर्णरुपमा पराश्रयी बन्ने बाटोमा देश धकेलिएपछि आत्म निर्भरता र स्वाधीनता जस्तो आधारभूत कुराहरुनै निष्कृय बनाइएर देशलाई पराधीनताको पासोमा परियो । देशका उर्जाशील यूवाहरु बिदेश पलायन हुनुको पृष्ठ भूमि नै यही हो ।
यसरी आर्थिक बिकासको गलत बाटो र गलत अर्थनीति तथा सुसशानको अभावले गर्दा आज देशको सार्वभौमिक एबं भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, जनतन्त्रिक अधिकार र निर्वाध नागरिक स्वतन्त्रता तथा जन जीविकका सबालहरु नै गम्भीर खतरामा परेका छन् । अजंगका भ्रष्टारका एक पछि अर्का डरलाग्दा प्रकरणरु फैलिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिरुपमा समेत अत्यन्तै शर्मलाग्दो स्थितिबाट हामीले शीर निहुराएर हिड्नुपर्ने स्थिति छ । हाम्रो संसद, सांसद, सरकार र सर्बोच्च समेत यही पासोमा परेका छन् । तिनलाई देशको सत्व, परिबर्तन अनि बिकास र समृद्धिकको कुनै चिन्ता छैन ।
यसै पृष्ठभूमिमा र यी राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृति बिकृति र बिचलनका बिरुद्ध जुध्न तथा ब्यवस्था र अबस्था दुबै फेर्नका लागि सशक्त र सघन प्रकृतिको ब्यापक राष्ट्रिय आन्दोलनको ज्वलन्त आवश्यकता महसुस गरेर देश र जनताको स्वाधीनता, अक्षुण्णता, शतत बिकास र सुदृढीकरणका लागि क्रान्तिकारी कम्युनिष्ट र बामपन्थीहरु, समर्पित लोकतन्त्रबादीहरु, देशका स्वाधीनता र अस्मिता जोगाउन चाहने सच्चा देशभक्तहरु तथा तमाम शोषित उत्पीडित जन समुदायलाई एकताबद्ध गरेर राष्ट्रिय एकतलाई सुदृढ पार्ने हेतुले नया पुराना प्रतिगमनकारी र साम्राज्यबादी शक्तिका बिरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चा आज अपरिहार्य राष्ट्रिय आवश्यकता बनेको हो । यस हिसाबले सबै खाले बाह्य हस्तक्षेपका बिरुद्ध यो राष्ट्रिय हितको प्रबद्र्धन र सम्बृद्धि तथा आत्मनिर्भर दिशामा देशलाई अग्रगति दिदै आमुल परिबर्तनको उन्नत चरण तर्फको अग्रसरता आधार बिकसित हुने छ ।
