अशोक “एपी दर्पण”

उहिले हजुरबाहरु मुग्लान पस्थे
रोजगारीका निमित्त भारत जान्थे
अलि पछि हजुरबाका छोराहरु
बा हरु खाडी तिर जान थाले
बा हरु खाडी मै छन्
अहिले छोराछोरीहरु
युरोप अमेरिका अस्ट्रेलिया जाँदैछ्न्
उहिले हजुरबाहरु गएका थिए
अलिपछि बा हरु गए
अहिले छोराछोरी जाँदैछन्
जाने गन्तव्य फरक भएको छ
जाने बाटो अलि फरक छ
देश त हजुरबाले पनि छाडेका थिए
बा ले पनि छाडेका थिए
अहिले छोराछोरीले छाड्दैछन् ।
हजुरबा हरु सन्तान भेट्न
कोसेली बोकेर घरमा आउँथे
अहिले छोराछोरीहरु उतै रमाउँछ्न
आफ्ना बा आमालाई भेट्न घुम्न
उतै बोलाउँछ्न ।
हजुरबाहरुको पालामा
हुलाकीले खामबन्दी पत्र ल्याउँथे
बाहरुको पालामा
शहर बजारमा टेलीफोन आयो
अहिले छोराछोरीको पालामा
सबैका हातहातमा मोबाइल छ ।
हजुरबा ले
एक महिना अघि मलाई सन्चै छ
भनेर लेखेको चिठी पढ्दा सबै खुशी हुन्थे
बा ले महिना दिनमा
पल्लो गाउँको साहुको दोकानमा
टेलीफोन गर्दा वरिपरिका सबै दङ्ग पर्थे
अहिले छोराछोरीहरु
पाँच पाँच मिनेटमा कुरा गर्छन्
अनुहार हेरेर मज्जाले गफिन पाइने
सँगै भए जस्तै अनुभुति दिलाउने
ईन्टरनेट घरघरमा आयो
हातहातमा फोन आयो ।
चलन त फेरियो
देश छाड्ने लहर फेरिएन
ब्यबस्था पो फेरियो
सत्ता फेरिएन
देश छोड्ने लहर
पन्चायतमा पनि थियोे
प्रजातन्त्रमा पनि थियो
आज गणतन्त्रमा पनि छ
हिजो जस्तो आज पनि उस्तै छ ।।
