काभ्रेपलाञ्चोक, २६ भदौ (रासस) ः पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाइँदैछन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धि प्रोत्साहन मापदण्ड–२०७७ जारी गरी स्थानीयलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको हो । नगरको सहयोगमा स्थानीयले पूरातत्व विभागले दिएको मापदण्डअनुसारको नीजि आवास निर्माण गर्नुपर्ने हुन्छ । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार नगरस्थित सम्पदा शाखाले स्थानीयले सम्पदामैत्री संरचना निर्माणबारे अनुगान, आवासको नक्सा पूरातत्व विभाग तथा नगरबाटै अन्तिम स्वीकृत गराउने काम गर्दै आएको छ । सम्पदामैत्री घर निर्माण गर्न परम्परागत इँटा, सुर्की, चुना, टायल वा झिँगटीको छानो, बिजोरमुखे झ्याल प्रयोग गर्नुपर्ने हुन्छ । यस्तै आवास निर्माण गर्दा सटर राख्न नमिल्ने, सिमेन्ट प्रयोग गर्न नपाइने, घरको पूरै भागलाई कौसी बनाउन नपाइने, घरको उचाइ छानोसहित ३५ फिट मात्रै हुनुपर्ने मापदण्ड तोकिएको छ । सम्पदा शाखाका इन्जिनियर प्रदीप बस्नेतका अनुसार मापदण्डबमोजिम आवास निर्माण गर्नेलाई प्रोत्साहनवापत एक वर्षमा चरणवद्धरुपमा २९ स्थानीयलाई रु ८४ लाख ६३ हजार तीन सय ३० प्रदान गरिएको छ । नगरपालिकाले घरको बाहिरी आवरण, सार्वजनिक सडक, गल्ली, चोकबाट अगाडि मोहडाको प्रतिवर्गफिट रु पाँच सयका दरले प्रोत्साहनवापत सहयोग उपलब्ध गराउँदै आएको हो । “विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेकाले संरक्षित क्षेत्र ऐतिहासिक सहर पनौतीमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्सहानस्वरुप गत आर्थिक वर्षदेखि नै आर्थिक सहयोग दिन थालेका हौँ”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार विभागले तोकेको पूरानो शैलीका घर बनाउँदा हाल महङ्गो पर्ने भएकाले पूरानो सहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो । नगरपालिकाले प्रतिघर रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गर्दै आएको जनायो । प्रोत्सहान रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पूरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार ७३ परिवारले नै पूरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेश गरेका हुन् । काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक नगरस्थित ७ नं वडा विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक नगर पनौतीलाई नेपालस्थित मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुनेछ । सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृतकार्य एक वर्षअघि अगाडि बढाइएपछि युनेस्कोको नेपालस्थित प्रमुख क्रिष्टियन मनहर्टको टोलीले यहाँका ऐतिहासिक, धार्मिक तथा पूरातात्विकलगायत सम्पदाको अवलोकन गरेको थियो ।
अवलोकनका क्रममा विशेष रुचिपूर्वक मठमन्दिर तथा पूराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न यूनेस्को तयार भएपछि नगरले प्रक्रियाका लागि गत आवमै रु एक करोड बजेटसमेत विनियोजन गरेको थियो । सरकारले पनौती सहरलाई प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मै ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । नेपालले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ । पूरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । त्यसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडौ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । त्यो विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख यूनेस्कोको तत्वावधानमा हुनेछ । रासस