लोकप्रियसमाचार दैािक ,
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिको बैठक सम्पन्न भएको छ।नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकले विपद् जोखिम न्यूनीकरण, प्रभावित नागरिकको व्यवस्थापन तथा मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यसँग सम्बन्धित विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैठकमा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत अनुषा कोइराला विभिन्न वडाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय सुरक्षा निकायका प्रमुख हरूको उपस्थिति रहेको थियो।
बैठकले अस्थायी आवासका लाभग्राही, जोखिममा रहेका बस्तीहरूको संरक्षण, मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य, रसुवा बाढीमा बेपत्ता नागरिकको विषय, अन्तरपालिका लाभग्राहीको स्थानान्तरण तथा खर्च अनुमोदन लगायतका प्रस्तावमा छलफल गरी निर्णय गरीएको नगरपालिकाको विपद् शाखा प्रमुख सबुना गमालले जानकारी दिनुभयो।गमालका अनुसार सरकारले तत्काल बेपता भएकाहरुको बिबरण प्रमाणीत गर्न जिल्ला व्यवस्थापन समिती मार्फत स्थानीय सरकारलाइ परिपत्र भएको कारण पनी तत्काल बैठक बस्न पर्ने भएको बताउँनु भयो । उँहाका अनुसार रसुवा भोटेकोशी का कारण नगरपालिकाका ८नागरिक बेपता भएका छन । बिपत व्यवस्थापन समितीलाइ बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख आइतमान तामाङले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। नगरप्रमुख तामाङले जोखिममा रहेका बस्ती तथा नागरिकको सुरक्षामा विशेष ध्यान दिँदै विपद् प्रभावितलाई राहत, आवास र आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै, विपद्को समयमा सबै पक्ष जिम्मेवार भएर परिचालित हुनुपर्ने उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिम सामना गर्न दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।बैठकले विपद् प्रभावित नागरिकको व्यवस्थापन, जोखिमयुक्त बस्तीको संरक्षण र आगामी मनसुनमा हुन सक्ने सम्भावित विपद् सामना गर्न आवश्यक तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।सोही अवसरमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सामग्री तथा एलईडी स्क्रिनसमेत हस्तान्तरण गरिएको छ।हस्तान्तरण गरिएका सामग्री तथा प्रविधिले नगरपालिकाको विपद् पूर्वतयारी, जोखिमसम्बन्धी सूचना प्रवाह तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुग्ने बिश्वास गरिएको छ।
