सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराउनेछ । गाउँपालिकाले जेसिबी र ढुङ्गा उपलब्ध गराउने तयारी गरेको छ । “बाढीले सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । चाडपर्व र पर्यटकीय मौसम सुरु हुन लागेकाले लामो समय सडक अवरुद्ध हुन दिनुहुँदैन भनेर तत्काल मर्मतको काम अघि बढाएका हौँ । आजदेखि सडक सञ्चालनका लागि काम सुरु हुन्छ । यसमा प्रदेश सरकार र नेपाली सेनाको महत्वपूर्ण सहयोग रहनेछ ।” अध्यक्ष केसीले भन्नुभयो । गाउँपालिकाले विपद्बाट भएको क्षति व्यवस्थापन तथा मर्मत–पुनर्निर्माणका लागि विपद् व्यवस्थापन समिति गठन गरेको छ । उक्त समितिमार्फत राहत, पुनर्निर्माण तथा सहयोग जुटाउने काम गरिने गाउँपालिकाले जनाएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिले सहयोगको घोषणा गरिसकेको अध्यक्ष केसीले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पुनर्निर्माणका लागि रु २० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । वीरेठाँटी घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । त्यस्तै, वीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गसमेत यही क्षेत्रबाट सञ्चालन हुँदै आएको छ । –––