चौतारा । सिन्धुपाल्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक मुद्दा समीक्षा कार्यक्रम सम्पन्न गर्दै न्याय सम्पादनको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। अदालतले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ, जसले न्यायिक प्रशासनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने प्रयासलाई थप मजबुत बनाएको देखिएको छ।अदालतमा आर्थिक वर्षको सुरुआतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २०० मुद्दा रहेका थिए भने चालु वर्षमा थप ७६० नयाँ मुद्दा दर्ता भएका थिए। यससँगै कुल ९६० मुद्दाको लगत कायम भएको थियो। तीमध्ये ७५१ वटा मुद्दा फछ्र्योट गरिएको छ भने २०९ वटा मुद्दा अझै बाँकी रहेका छन्।
अदालतले चालु आर्थिक वर्षमा ६७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर निर्धारित लक्ष्यभन्दा ७५ वटा बढी मुद्दा टुंग्याउँदै अदालतले करिब ७८.२३ प्रतिशत फछ्र्योट दर कायम गर्न सफल भएको माननीय न्यायाधीश. श्री रिता कुमारी बख्रेलले जानकारी दिनु भयो । वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत विवरणअनुसार विगतका आर्थिक वर्षहरूको तुलनामा मुद्दा फछ्र्योटको दरमा उल्लेखनीय सुधार देखिएको छ। विशेषगरी लामो समयदेखि विचाराधीन रहेका पुराना मुद्दाहरूलाई प्राथमिकतामा राखेर टुंग्याउने अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको अदालतले जनाएको छ। दुई वर्षभन्दा बढी तथा १८ महिनाभन्दा बढी समयदेखि विचाराधीन रहेका मुद्दाहरूलाई विशेष प्राथमिकता दिई सुनुवाइ तथा फैसला प्रक्रियालाई तीव्रता दिइएको माननीय न्यायाधीश. बख्रेलले जानकारी दिनु भयो।
समीक्षाका क्रममा अदालतले फैसला कार्यान्वयनको अवस्थाबारे पनि विस्तृत समीक्षा गरेको थियो। अदालतबाट भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा कैद तथा जरिवाना असुली, सम्बन्ध विच्छेद, करणी, अंशबन्डा, लेनदेन तथा अन्य प्रकृतिका मुद्दाहरूको अवस्थाबारे तथ्याङ्कसहित समीक्षा गरिएको थियो। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँगको समन्वयलाई थप सुदृढ बनाइएका तहसिलदार (शाखा अधिकृत). श्री हेमा पाण्डेले जानकारी दिनु भयो ।
कार्यक्रममा न्यायिक प्रशासनलाई आधुनिक, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विषयमा समेत विशेष जोड दिइएको थियो। सेवाग्राहीले न्यायिक सेवा सहज, छिटो र सरल रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सूचना प्रविधिको प्रयोग, अभिलेख व्यवस्थापन, मुद्दा व्यवस्थापन प्रणाली तथा प्रशासनिक सुधारका विभिन्न उपायहरू अवलम्बन गरिएको अदालतले जनाएको छ। यसले न्यायिक प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको विश्वास व्यक्त गरिएको छ।
समीक्षा कार्यक्रममा अदालतका न्यायाधीश, न्यायिक तथा प्रशासनिक कर्मचारीहरूको सक्रियता, समन्वय र जिम्मेवारीपूर्ण कार्यसम्पादनका कारण लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सम्भव भएको उल्लेख गरिएको थियो। न्याय सम्पादनको गुणस्तर कायम राख्दै छिटो न्याय प्रदान गर्ने उद्देश्यअनुरूप अदालतले निरन्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरिरहेको श्रेस्तेदार (उपसचिव). श्री रमेश बहादुर कुँवरले जानकारी दिनु भयोे।
कार्यक्रममा आगामी आर्थिक वर्षका लागि थप प्रभावकारी कार्ययोजना लागू गर्ने, पुराना मुद्दाको चाप घटाउने, फैसला कार्यान्वयनको दर बढाउने तथा न्यायिक सेवामा जनविश्वास अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखिने बताइएको छ। न्यायिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने दिशामा अदालत प्रतिबद्ध रहेको जनाइएको छ।
समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क तथा उपलब्धिहरूले सिन्धुपाल्चोक जिल्ला अदालतले सीमित स्रोत–साधनका बीच पनि न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै निर्धारित लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको देखाएको छ। यस उपलब्धिले न्यायिक क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै छिटो, छरितो र गुणस्तरीय न्याय प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न अदालत थप दृढताका साथ अघि बढिरहेको सन्देश दिएको छ।
