सुनिता रखाल,चौतारा ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नियमित मासिक कार्यक्रमअन्तर्गत पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्लामा सम्पन्न भएका प्रहरी गतिविधि, शान्ति सुरक्षा अवस्था तथा अपराध नियन्त्रणका प्रयासबारे जानकारी गराइएको थियो।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जेसी शाहको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चालु आर्थिक वर्ष २०८२÷०८३ को असार महिनामा प्रहरीले सम्पादन गरेका प्रमुख कार्यहरूको प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा समुदाय–प्रहरी साझेदारी, लागुऔषध नियन्त्रण, साइबर अपराध न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, राजस्व संकलन, ट्राफिक व्यवस्थापन तथा विभिन्न आपराधिक घटनाको अनुसन्धानलगायतका विषयमा जानकारी दिइएको थियो।
अन्तरक्रियाका क्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको पछिल्लो सुरक्षा अवस्था, अपराध नियन्त्रणका चुनौती, लागूऔषध दुव्र्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, साइबर अपराध तथा फरार अभियुक्तको खोजीबारे विभिन्न जिज्ञासा राखेका थिए। सूचना अधिकारी शाहले उठाइएका प्रश्नको जवाफ दिँदै प्रहरीले कानुन कार्यान्वयन, अपराध नियन्त्रण र नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
उहाँले प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यले सही सूचना प्रवाह, अपराध नियन्त्रण तथा नागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै तथ्यपरक र जिम्मेवार पत्रकारिताका लागि सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले प्रहरीको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए। जिल्ला प्रहरी कार्यालयले यस्ता नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै प्रहरी र सञ्चारमाध्यमबीचको समन्वयलाई थप सुदृढ बनाइने जनाएको छ
