असार ३१ – प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा प्लास्टिकमुक्त अभियान तथा कपडाको झोला वितरण कार्यक्रम गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद युवराज दुलालले वातावरण संरक्षणका लागि प्लास्टिकको प्रयोग घटाउनु आजको आवश्यकता भएको बताउँदै स्थानीय तह, संघसंस्था र नागरिकको संयुक्त प्रयासबाट मात्र प्लास्टिकमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले वातावरणमैत्री व्यवहार अपनाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा उँहाले वातावरण संरक्षणलाई नीति र व्यवहार दुवै तहबाट अघि बढाउनुपर्ने आवश्यकता भउको उल्लेख गर्नु हुादै संसदमा आफूले किसानको हित, कृषि क्षेत्रको विकास तथा जनजीविकासँग जोडिएका विषयमा निरन्तर आवाज उठाउँदै आएको र वातावरण संरक्षण पनि कृषिको दिगोपनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउँनु भयो ।
दुलालले वडा तहबाट सुरु भएका यस्ता अभियानले वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै घोषणा कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले प्लास्टिकजन्य फोहोरले वातावरणमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै नगरपालिकाले वातावरण संरक्षणसम्बन्धी अभियानलाई प्राथमिकता दिएको बताउनुभयो। त्यसैगरी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले प्लास्टिकको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र प्राकृतिक स्रोतमा नकारात्मक प्रभाव पारिरहेको भन्दै यसको विकल्पको प्रयोगमा जोड दिनुभयो। उहाँले जनचेतना अभिवृद्धिसँगै व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो। सो अवसरमा सहभागीहरूलाई कपडाका झोला वितरण गरिएको थियो। झोलामार्फत प्लास्टिकको प्रयोग घटाई वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य राखिएको डिभिजनल वन अधिकृत ओमसागर भण्डारीले बताउँनु भयो । उँहाले चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवालाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमुक्त वडा घोषणा गरिएको बताउँदै प्लास्टिक प्रदूषण नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको औँल्याउँदै दैनिक जीवनमा पुनः प्रयोग गर्न सकिने सामग्रीको प्रयोग बढाउन आग्रह गर्नु भयो ।
कार्यक्रमको सभापती वडा अध्यक्ष उदव नेपालले वडा नम्बर १४ लाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमुक्त घोषणा गर्नु केवल औपचारिक कार्यक्रम नभई वातावरण संरक्षणतर्फको सामूहिक संकल्प भएको भन्दै यस अभियानलाई सफल बनाउन स्थानीयवासी, विद्यालय, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले वडाभित्र एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग न्यून गर्दै वातावरणमैत्री बानीको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताउँनु भयो ।
नेपाल पत्रकार महासघका उपाध्यक्ष दिपक अर्याल , डडुवा भवानी शङ्कर माबीका प्अ बद्री प्रसाद नेपाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका जिल्ला संयोजक नेत्र बहादुर बस्नेतले उपस्थितीलाइ मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई प्लास्टिकको प्रयोग घटाउने, पुनःप्रयोग गर्न सकिने तथा वातावरणमैत्री झोला पनि वितरण गरिएको थियो ।
