सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मिना राना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घटनापछि उनका श्रीमान मिनबहादुर भण्डारी फरार रहेका छन् ।
स्थानीयका अनुसार माइत गएकी श्रीमतीलाई मिनबहादुरले मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित ससुरालीबाट घर ल्याएका थिए । घर आएपछि दुवैले मदिरा सेवन गरेको र सोही क्रममा सामान्य विवाद उत्पन्न भएको बताइएको छ ।
वडा सदस्य रवि खत्रीका अनुसार मदिराको नशामा भएको विवादका क्रममा मिनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेका थिए । उक्त प्रहारकै कारण मिना रानाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बुधबार बिहान स्थानीयले मिना रानालाई घरमै मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउको र घुँडामा चोट तथा निलडाम देखिएको भए पनि घटनास्थलमा कुनै धारिलो हतियार प्रयोग भएको संकेत नदेखिएको स्थानीयले बताएका छन् ।
घटनापछि आरोपी मिनबहादुर फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
