नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको राससले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार बबरमहलमा केहीप्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।
त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताउनुभयो ।आज बिहान अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेको थिए ।यस अघी नेकपा (एमाले)को बैठकले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । राससका अनुसार ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । बैठकले उहाँहरुलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा आज बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । साथै बैठकले जेनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि माग गरेको छ ।
