सम्पर्क

दुर्गम हेलम्बुको छलाङः कार्यसम्पादनमा महानगरलाई उछिन्दै उत्कृष्टता

रुपक पुरी ,पहाडी भौगोलिक कठिनाइ र सीमित आन्तरिक स्रोतबीच पनि हेलम्बु गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा उल्लेखनीय सफलता हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार हेलम्बुले ६२.९२ प्रतिशत अंक प्राप्त गर्दै धेरै चर्चित सहरहरूलाई पछि पारेको हो ।
आयोगका अनुसार काठमाडौं महानगरपालिका ले ४४.९७ प्रतिशत र धरान उपमहानगरपालिका ले ४९.७६ प्रतिशत अंक प्राप्त गरेका छन् । तुलनात्मक रूपमा स्रोतसाधन र पूर्वाधारमा अगाडि मानिने महानगरभन्दा दुर्गम गाउँपालिकाले उच्च अंक ल्याउनु अर्थपूर्ण उपलब्धि मानिएको छ ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यो सफलता जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र स्थानीयवासीको साझा मिहिनेतको परिणाम भएको बताउनुहुन्छ । सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएकै कारण सकारात्मक नतिजा सम्भव भएको उहाँको भनाइ छ ।
हेलम्बुले शिक्षामा मोडेल विद्यालय अवधारणा लागू गर्नुका साथै स्वास्थ्य सेवा सुदृढीकरण, एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने जस्ता नविन कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै ग्रेट ट्रेल को प्रवद्र्धनले पर्यटन विकासमा नयाँ आयाम थपेको छ।
दुर्गमतालाई कमजोरी होइन, अवसरका रूपमा रूपान्तरण गर्दै हेलम्बुले स्थानीय शासनको प्रभावकारी नमुना प्रस्तुत गरेको छ ।