रुपक पुरी
प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक जिल्ला यतिबेला चुनावी सरगर्मीले तातेको छ । पहाडी बस्तीका चोक–गल्ली, बजार र टोलहरूमा उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिन थालेको छ । घरदैलो, मतदाता भेटघाट, सुझाव संकलन, सांस्कृतिक झाँकी र सरसफाइजस्ता कार्यक्रममार्फत चुनावी माहोल गाउँ–गाउँसम्म पुगेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले लिसंखुपाखर गाउँपालिका को पाखर बजारबाट औपचारिक रूपमा ‘मतदाता भेटघाट तथा सुझाव संकलन’ अभियान सुरु गर्नुभएको छ । ‘तारा’ अंकित झण्डासहित निस्किएको जुलुसमा स्थानीय बासिन्दा, युवा, महिला र विद्यार्थीहरूको उल्लेख्य सहभागिता देखिन्थ्यो । डम्फु, झ्याली र बाजागाजाको तालमा सांस्कृतिक झाँकीसहितको स्वागतले चुनावी माहोललाई उत्सवजस्तै बनाएको थियो ।
अभियानमा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, प्रदेशसभा सदस्यहरू र पार्टीका अन्य नेताहरूको सहभागिता थियो । ठूलो पाखरमा आयोजित कोणसभामा सापकोटाले आफ्नो ३३ महिनाको कार्यकालका उपलब्धि स्मरण गराउँदै अधूरा योजना पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । डाँडापाखरदेखि जेठलसम्म पुगेर स्थानीयका गुनासा डायरीमा टिपोट गर्नु उहाँको अभियानको मुख्य विशेषता बनेको छ ।
क्षेत्र नम्बर १ का लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सरेश नेपाल पनि छुट्टै प्रतिबद्धता पत्र सार्वजनिक गर्दै चुनावी अभियानमा होमिनुभएको छ । जुगल हिमाल क्षेत्रको पर्यटन प्रवद्र्धन, तातोपानी नाका सञ्चालन सुदृढीकरण, अरनिको राजमार्ग स्तरोन्नति, शिक्षा–स्वास्थ्य सुधार र रोजगारी सिर्जना उहाँको मुख्य चुनावी एजेन्डा रहेका छन् । पारदर्शी र जवाफदेही नेतृत्वको वाचा समेत नेपालले गर्नुभएको छ ।
नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ का लागि उम्मेदवार बन्नुभएका जँगबहादुर लामाले पनि चुनावी प्रचारलाई आक्रामक शैलिमा लानुभएको छ । निर्माण व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका लामा हाल कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापति हुनुहुन्छ। उहाँ २०७८ फागुन ३० गतेदेखि नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा चयन हुनुभएको थियो । संगठन निर्माण, कार्यकर्ता परिचालन र जिल्लामा पार्टीलाई सशक्त बनाउने काममा उहाँको उल्लेखनीय भूमिका रहेको छ । लामा स्थानीय विकास, पूर्वाधार निर्माण, सुशासन र जनताको जीवनस्तर सुधारलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा मान्दै अघि बढिरहनुभएको छ । संसदीय अनुभव नभए पनि जनताको नजिक रहेर पार्टीको काम गर्दै आएकोले उहाँलाई जिल्लाबासीले एक आशावादी नेताको रूपमा लिँदै आएका छन् ।
क्षेत्र नम्बर २ मा पनि चुनावी गतिविधि तीव्र छ । युवराज दुलाल ले पाँचपोखरी क्षेत्रबाट अभियान सुरु गर्दै विकास र परिवर्तनको एजेन्डा अघि सार्नुभएको छ ।
उता बंशलाल तामाङले हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई ‘अर्गानिक भ्याली’को रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभएको छ । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित उहाँ मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ ।
यसैबीच श्रम संस्कृति पार्टी ले बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गर्दै चुनावी प्रचारलाई सामाजिक अभियानसँग जोडेको छ ।
गाउँका चिया पसलदेखि बजारका चौतारासम्म अहिले चुनावी बहस चलिरहेको छ । विकास, रोजगारी, सडक, शिक्षा र स्वास्थ्यजस्ता विषय मतदाताका प्राथमिक एजेन्डा बनेका छन् । उम्मेदवारहरू पनि परम्परागत भाषणभन्दा बढी प्रत्यक्ष संवाद र सुझाव संकलनमा जोड दिइरहेका छन् । यसरी हेर्दा, सिन्धुपाल्चोकमा चुनाव केवल प्रतिस्पर्धा मात्र होइन—उत्सव, संवाद र अपेक्षाको संगम बनेको छ । आगामी परिणामले कसको रणनीति प्रभावकारी ठहरिन्छ भन्ने तय गर्नेछ, तर अहिलेका लागि जिल्लाभर चुनावी रंग गाढा बन्दै गएको छ ।
