
नेपाली कांग्रेसका अग्रज नेता एवं केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले आफूले ७० वर्ष योगदान गरेको नेपाली कांग्रेसले समयको मागअनुसार आवाजलाई सम्बोधन गर्ने बताउँदै आठ लाखभन्दा बढीको सङ्ख्यामा रहेका क्रियाशील सदस्यहरुले नेपाली कांग्रेसको नीतिअनुसार देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ का उम्मेदवार उदयशम्शेर राणाले जेनजी आन्दोलनले नेपालीहरूको सोचाइमा परिवर्तन ल्याएकाले त्यही सोचअनुसार नेपाली कांग्रेस पनि बदलिएको बताउनुभयो । अब देशको आर्थिक, सामाजिक रुपान्तरण, आमनागरिकको जनजीविकामा सुधार ल्याउँदै आर्थिक समृद्धि हासिल गर्न, सुशासन कायम गर्न पार्टीले बहुमत हासिल गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट क्षेत्र नं २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले नेपाली कांग्रेसको नेतृत्व र कार्यशैली बदलिएको बताउँदै देशको परिवर्तनका लागि जिम्मेवारीबोध गर्दै एकताबद्ध भएर २०४८, २०५६ र २०७० सालमा जस्तै बहुमत हासिल गर्न क्रियाशील भएर लाग्नुपर्ने धारणा राख्नुभयो । रासस