

आजदेखि शुरु भएको सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो मेलामा हजारौँ दर्शनार्थीको भिड लागेको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल गौरती भिमेश्वर मन्दिरमा दुई दिने मेला लाग्नेछ ।
मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आएका छन् । पौराणीक कालमा जंगल रहेको सो डाँडोमा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले रातको समयमा एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले देखेपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भएको किम्बदन्ती रहेको छ । सो ठाउँमा दैनिक पूजा गरे भलो हुने बताएपछि सोही समयदेखि पूजाआजा गर्ने गरेको पाइन्छ । ‘गौ’ अर्थात् गाईले राती दुध चढाएको कारण गौरती भएको भन्ने मान्यता छ ।
दर्शनार्थीको सुविधालाई ध्यानमा राखि चौतारादेखि गौरती डाँडाँसम्म यातायातको व्यवस्था गरिएको छ भने काठमाडौंबाट पनि सिँधै बस तथा माइक्रोबसबाट जान सकिन्छ । मेलामा दर्शनार्थीहरुलाई मनोरञ्जन गराउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीसहित विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
मेलामा सदरमुकाम चौताराबाट भिमसेनको मूर्तीलाई रथमा तानेर पूर्णिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । त्यसदिन गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वाद्वशीको दिन मेला सम्पन्न गरिने परम्परा छ ।
