सम्पर्क

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पावन शुभारम्भ

(मंसिर ९, २०८२) मा पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकमा दीप प्रज्वलनसहित शुभारम्भ गरियो। उज्यालो दीपशिखाले अन्धकार हटाएझैँ, हिंसा, विभेद र असमानताबाट मुक्ति पाउने सामूहिक प्रतिज्ञाको प्रतीक बनेको यस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रीमती सुनिता अधिकारी ज्युले आध्यात्मिक आस्था र सामाजिक उत्तरदायित्वको सन्तुलित स्वरमा अभियानको उद्घाटन गर्नुभयो। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई गाउँपालिका कार्यालयका कर्मचारीहरू स्वास्थ्य चौकीका कर्मचारी, महिला तथा बालबालिकाको क्षेत्रमा समर्पित संघ–संस्था प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो। सबैले एकै स्वरमा मानवताको मूल सार—गरिमा, सुरक्षा र सम्मान—लाई संस्थागत गर्ने प्रतिज्ञा व्यक्त गरे। अभियानलाई जनमुखी र हृदयस्पर्शी बनाउन उद्देश्यसहित सडक नाटक, विद्यालयस्तरीय वृत्तचित्र प्रदर्शनी, सीपमूलक तालिम तथा व्यक्तित्व–कला प्रतियोगिताजस्ता कार्यक्रमहरू तय गरिएको महिला तथा बालबालिका शाखा प्रमुख दीपा कुमारी धमलाले जानकारी दिनुभयो। साथै वैदेशिक श्रमबाट फर्किएका दिदीबहिनीहरूसँग अन्तरक्रिया गरी उनीहरूको अनुभवलाई प्रकाशमा ल्याउँदै समाजमा चेतना र संवेदना फैलाउने तयारी गरिएको छ। यो अभियान केवल औपचारिकता नभई आत्मशुद्धि, मनोशक्ति र सामाजिक रूपान्तरणको एक सामूहिक यात्रा हो। दीपको उज्यालोले हिंसामुक्त समाजको आशा बोकेर प्रत्येक घर–आँगनमा प्रकाश फैलाओस्, महिला र बालबालिका सबैलाई त्यसतर्फ सचेत रहन हार्दिक आग्रह गर्दछौं।।