सम्पर्क

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन आह्वान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशभर भव्यताका साथ मनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।
लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख तथा महिला विकास अधिकृत ममता विष्टले मन्त्रालय मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानलाई प्रभावकारी कार्यक्रमसहित मनाउन निर्देशन दिनुभएको हो ।
उहाँका अनुसार अभियानमा तीनै तहका सरकार, विद्यालय, विभिन्न सङ्घ–संस्था तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ। मन्त्रालयले आफ्ना संरचनामार्फत देशभर जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।
यस वर्ष अभियानको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’, र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ तय गरिएको मन्त्रालयले जनाएको छ । अभियानको प्रमुख उद्देश्य लैङ्गिक हिंसाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै प्रविधिको जिम्मेवारीपूर्ण प्रयोगमार्फत डिजिटल तथा अन्य प्रकारका हिंसा रोकथाम गर्ने रहेको छ । प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको अभियान दिवसका रूपमा मनाइँदै आएको छ, र यही दिनदेखि १६ दिने अभियान औपचारिक रूपमा सुरु हुन्छ ।