सम्पर्क

मेलम्चीको पानी काठमाण्डौ लान बन्द

सिन्धुपाल्चोकजिल्लाको हेलम्बुका स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण बन्द गराएका छन् । हेलम्बु गाउँपालिका–१,अम्बाथानस्थित सुरुङबाट बिहीबार मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएको हो ।स्थानीयले आफ्ना माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन् ।  यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढिपिडित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले जानकारी दिनुभयो । मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यू भएका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्नेलगायतका विभिन्न माग उनीहरूले राखेका छन् ।स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लान नपाइने उनीहरूको भनाइ छ । पीडितहरूलाई आयआर्जनका कार्यक्रमहरू लागू गराउन माग गर्दै १७ बुँदे ध्यानाकर्षण गराइएको हो । यसअघि २०८१ असोज २३ गते संघर्ष समिति र गाउँपालिकासँग तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले माग पूरा गर्ने सहमति गर्नुभएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रभावितहरूले हेलम्बुमा रहेको मुख्य मुहान बन्द गरेका ह्न । तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग गरेको १० बुँदे सम्झौता कार्यान्वय नभएको भन्दै प्रभावितहरुले काठमाडौं पठाउने मेन टनेल बन्द गरेका स्थानीय रामहरी लामीछानेले बताउँनु भयो ।२०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री यादवसँग भएको सम्झौता कार्यान्वयन गर्न आलटाल गरेको प्रभावितहरुको गुनासो छ ।हेलम्बुबाट निःशुल्क पानी लगेपनि काठमाडौंमा उपत्यका खानेपानीले रकम असुल गर्ने गरेको छ । हेलम्बुको पानी लगेर काठमाडौंबासीलाई बेचेर केयुकेएल धनी भएपनि हेलम्बुबासीको लागि एक रुपैयाँमा पनि नदिएको स्थानीयहरुको आरोप छ । काठमाडौंबासीलाई कि निः शुल्क पानी वितरण गर्नुपर्ने नभए पानी बेचेर आएको २५ प्रतिशत लेबी प्रभावितलाई बुझाउनुपर्ने उनीहरूको माग रहेको लामीछानेले जानकारी दिनु भएको छ ।