देबराज सुबेदी मेलम्ची–१, भोटेचौर स्थित सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित पशुधन सुरक्षण समितिको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले सदस्यहरुको सहकारी प्रतिको चासो अझै बढ्नु पर्नेमा जोड दिनुभयो ।

कम्पनी मार्फत गरिएको बिमाको भुक्तानीमा कठिनाइ रहेको बताउँदै यसको सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सहकारीमा बिभिन्न समस्याले रोकिएको बिमा कार्यक्रम अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सहकारीले अझै सहुलियतपूर्ण ऋण ल्याएर सदस्यहरुमा लगानी गर्ने उहाँले बताउनुभयो ।चौलागाईंले सदस्यहरुलाई धेरै भन्दा धेरै सुबिधा रहेको तथा अझ थप गरिने बताँउदै सहकारी मार्फत बचत गर्न र ऋण लिएर यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।कार्यक्रमका सभापति पशुधन सुरक्षण समितिका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०८० चैतदेखि २०८१ चैतसम्मको अवधिमा ३०० गाई र ४३२ भैंसी गरी जम्मा ७३२ वटा पशुहरूको बीमा गरिएको जानकारी दिनुभयो। केहि समस्याका कारण बाख्रा, बगुंर लगायतको बिमा रोकेको बताँउदै केहि समयमा पुनः सुरु गरिने बताउनुभयो ।उहाँले नेपाल सरकारद्वारा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमार्फत चैतसम्म ८१ लाख २३ हजार ८ सय रुपैयाँ बीमा भुक्तानी आउन बाँकी रहेको उल्लेख गर्नुभयो।सभामा आगामी कार्यक्रमका लागि पशु संख्या वृद्धि गर्ने, न्यूनतम एक घर न्युनतम २ उत्पादक पशुपालन, सहजीकरणका कार्यक्रम सञ्चालन, गोठ सुधार, औषधोपचार पहुँच, पशु बीमा शुल्कमा सहुलियत लगायत योजना सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेलम्ची –२ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले सहकारीले कृषकसंगै रहेर हातेमालो गर्दै अघि बढेको बताउँदै वडा र सहकारी मिलेर कृषक प्रोत्साहन कार्यक्रम ल्याइने बताउनुभयो । मेलम्ची ३ का अध्यक्ष कुमार बन्जराले आफुपनि सहकारी मार्फत इजरायल पुगेर आएको बताउदै सहकारी मार्फत संगठित भै आयआर्जनमा लाग्न सबै सदस्यहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा वडा नं १ का सदस्य लालबहादुर तामाङ , कार्यपालिका सदस्य गोमा दुलाल, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौ शाखाका अधिकृत सुचिता घिमिरे लगायतले शुभकामना व्यक्त गर्दै पशुधन सुरक्षण कार्यक्रमले जोखिम कम गर्ने बताउदै यसको उपयोगीता बारे जानकारी गराउनुभयो ।घिमिरेले ११ सय भन्दा बढि संस्थासंग सहकार्य गरि बिमा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै बाँकि भुक्तानी केहि समयमा नेपाल सरकारबाट प्राप्त भएपछि गरिने बताउनुभयो ।घिमिरेले संस्थाले गरिरहेको काम र सुविधाहरु बारे जानकारी गराउनुभयो ।
