सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा केशवराज गिरी नियुक्त हुनुभएको छ । बागमती प्रदेश अस्पताल सञ्चालन कार्यबिधि अनुसार अध्यक्षमा नियुक्त हुनुभएको हो ।
नवनियुक्त अध्यक्ष गिरीले बिहिवार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्दै अस्पतालको उन्नति र प्रगतिको लागि सदैव लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अझ कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ आफू अग्रसर रहने उद्घोष गर्नुभयो । वागमती प्रदेश सरकार मातहत प्रादेशिक अस्पताल चौतारामा यसभन्दा अघि समाजसेवी टंकबहादुर कार्की अध्यक्षको रुपमा रहदा १५ सैयाको अस्पताललाई ५० सैयामा पु¥याएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष कार्कीलाई अस्पतालले कार्यकालको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
अस्पताल सञ्चालन समितिका सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास समिति संयोजक रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अस्पतालको हालको अवस्थाको बारेमा मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्रमणी भण्डारीले जानकारी गराउदै समग्र अवस्थाको बारेमा तयार पारिएको बिवरण नवनिर्वाचित अध्यक्ष समक्ष पेश गर्नुभएको थियो ।
