देव राज सुबेदी ,सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बालमैत्री नगर घोषणाका लागि नगरपालिकाले निर्वाह गर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाले आयोजना तथा एक्प्याक्ट लक्जम्बरको आर्थिक सहयोग सुनिता फाउन्डेसनको समन्वयमा आयोजित ३ दिने बालमैत्री स्थानीय शासन र बाल संरक्षण प्रणाली प्रशिक्षक प्रशिक्षणलाई समापन गर्नुहुँदै प्रमुख तामाङले उक्त भनाई राख्नु भएको हो । उहाँले यो कार्यकालमानै बालमैत्री नगर घोषणा गर्ने गरि जनप्रतिनिधी, कर्मचारी लागेको बताउँदै यसका लागि सबैकोे सहयोगको खाँचो रहेको बताउनुभयो ।
त्यस्तै उपप्रमुख उमा प्रधानले बालमैत्री नगर घोषणाका लागि ५१ वटा सुचक पुरा गर्न जनप्रतिनिधी मात्रको प्रयासले पुरा नहुने भन्दै कर्मचारी र नगरबासीको सहयोग चाहिने बताउनुभयो । त्यस्तै बालमैत्री अभियान्ता प्रशिक्षक तिलोतम पौडेलले नगरले गरेका कार्यको प्रचार र डकुमेन्टेसनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महिला बालबालिका तथा समाबेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले बालमैत्री वडा तथा नगर घोषणाका लागि तयार गरिएको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मेलम्ची ३ का वडा अध्यक्ष कुमार बञ्जरा , शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, विभिन्न शाखाका प्रमुखहरु, जनप्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, प्रशिक्षक प्रशिक्षार्थीहरुको सहभागिता थियो । तालिमको बालमैत्री अभियान्ता प्रशिक्षक तिलोतम पौडेल, डा देवकी आचायले सहजिकरण गर्नु भएको थियो ।समापन कार्यक्रमको सञ्चालन नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले गर्नुभएको थियो ।
