दर्शन सुनार/लोकप्रिय दैनिक दोहा,कतार
गुल्मीको सामुदायिक विद्यालयलाई सद्भाव युवा समूह समाज कतारद्वारा शैक्षिक सामग्री सहयोग गरेको छ ।
कतारलाई कर्म थलो बनाई कतार एअरवेजको विभिन्न शाखाहरूमा कार्यरत युवाहरूले नितान्त सामाजिक सदंभाव, मानव सेवा तथा सामाजिक हक र हितका लागि काम गर्ने हेतुले कतारमा सन् २००८ मा स्थापना भएको सदभांव युवा समाज कतारले गुल्मीमा एक प्राथमिक विद्यालयलाई एक लाख एक्काइस हजार बरावरको शैक्षिक सामग्री सहयोग गरेको हो ।
सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालको संयुक्त आयोजनामा गुल्मी जिल्ला ईस्मा गाउँपालिका वडा नं। ५ राता पोखरामा रहेको श्री सिद्ध आधारभूत प्राथमिक विद्यालयमा अध्ययनरत करिब ६५ जना बिद्यार्थीहरुलाई सदभांव उपहार स्वरूप विद्यालय व्यवस्थापन समिति स्थानीय समाजसेवी एवं जनप्रतिनिधिको रोहबरमा ६५ थान ट्र्याक सुट, ६५ स्कुल झोला९ब्याग० लगायत शैक्षिक सामग्री वितरण गरेको समाजले जानकारी दिएको छ । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर विष्टको अध्यक्षता तथा ईस्मा गाउँपालिका उपप्रमुख तथा अधिवक्ता पार्वती कुँवरको प्रमुख आतिथ्यसँगै ईस्मा गाउँपालिकाका वडा अध्यक्ष झबिन्द्र अर्याल लगायत स्थानीय समाजसेवी एवं बुद्धिजीवी लगायत स्थानीय क्लबका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । गाउँपालिका उपप्रमुख पार्वती कुवरले सदंभाव युवा समाज कतारले गरेको सहयोगको उच्च प्रशंसा गर्दै सिङ्गो ईस्मा गाउँपालिकाको तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्नुभयो । त्यस्तै गाउँपालिका वडा अध्यक्ष झबिन्द्र कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर विष्ट लगायत कार्यक्रमका उपस्थित अन्य व्यक्तित्वहरूले सदंभाव युवा समूह कतारले अत्यन्तै सराहनीय कार्य गरेको बताउँदै युवा समूह कतारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सदंभाव युवा समूह कतारका अध्यक्ष विजय गुरुङले लोकप्रिय दैनिकसँग संवाद गर्दै “समाजले स्थापना कालदेखि नै सामाजिक सद्भाव र सहयोगको निमित्त कतार तथा नेपालमा भई परि आउने समस्याहरूलाई सदैव प्राथमिकता राखेर काम गर्दै आइरहेको र यस वर्ष पनि प्रवासीको सानो कोसेली बोकेर केही समय अघि सुनसरी बराह नगरपालिका बस्तीमा हामी पुगेका थियौ । त्यस्तै गुल्मीको ईस्मा गाउँपालिका वडा नं। ५ श्री सिद्ध आधारभूत विद्यालय गुल्मी राता पोखरा स्थित पुगेर सहयोग हस्तान्तरण गर्यौ ।” अबको केही हप्तापछि सिन्धुली बाढी पीडित तथा काठमाडौँ कीर्तिपुरमा रहेको अनाथ बालबालिका ‘माया घर’ भवन निर्माणमा सहयोग गर्नको लागी संस्थागत तयारी भइरहेको गुरुङले बताउनु भयो । उहाँले शैक्षिक सामग्री हस्तान्तरण गर्नको लागी कार्यक्रमको तयारी गरेर स्थलगतसम्म पुगेर खटिनुहुने सदंभाव समाज नेपालका पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभयो । सामाजिक सदभाव र आपसी सहयोगको लागी स्थापित संस्था सदभाव युवा समाज कतारले भूकम्प पीडित, बाढी पीडित, राष्ट्रिय आविष्कार केन्द्र, मानव सेवा आश्रम लगायत दुख पिडा र समस्यामा परेका सबैलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।
