सम्पर्क

वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी मेलम्चीले मनायो २१ औँ स्वास्थ्य स्वयंसेविका दिवस

देबराज सुबेदी २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका स्वस्थ समाज निर्माणमा सहभागीता” भन्ने मुल नारा सहित मेलम्ची नगरपालिकाले विश्व अन्तर्राष्ट्रिय स्वयंसेविक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय स्वयंसेविका दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । मेलम्ची नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी आयोजना गरिएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका १३ वटा वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरु सहभागी भएका थिए । चम्चा दौड प्रतियोगिता वडा नम्बर ८ की देवकी गिरी पहिलो, वडा नम्बर २ को सम्झना खत्री दोस्रो, वडा नम्बर ३ को सिता तामाङ तेस्रो र वडा नं. ३ कै सबिना गुरूङले सान्त्वना स्थान हासिल गर्नुभयो ।वक्तृत्वकला प्रतियोगितामा वडा नम्बर १० को सम्झना पन्त पहिलो, वडा नम्बर ५को संगिंता तामाङ दोस्रो , वडा नं. १३ को सारदा घोरासैनी तेस्रो र वडा नम्बर ४ को गंगा राउतले सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएको मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाका ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सन्ध्या न्यौपाने र मेलम्ची नगर अस्पतालको डा. किरण श्रेष्ठले गर्नु भएको थियो । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख तामाङले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गर्दै मनोबल उच्च राख्नेगरि नगरले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नगर भित्रको बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । प्रमुख तामाङले स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएतापनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा सहयोग गर्न पनि आग्रह गर्नु भयो । उपप्रमुख उमा प्रधानले स्वंसेवीकाको भुमिकाको प्रसंशा गर्नुभयो ।