नेपालकै प्रसिद्ध गौराति भीमसेन स्थानमा लाग्ने मेलाको अवसर पारेर भक्तपुरका रन्जितकार समाजद्वारा चौताराको भीमसेनलाई किंकम्पा र मुकुट उपहार प्राप्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोलाई एक समारोहका बिच रन्जितकार समाज भक्तपुरले ख्यातिप्राप्त मूर्तिकार रवि शाक्यद्वारा निर्मित १० तोलाका चाँदी र सुनको किंकम्पा र मुकुट हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण लगत्तै भीमसेन गुठीका केशवलाल श्रेष्ठलाई नगर प्रमुख सापकोटाले हस्तान्तरण गर्नुभयो । गौराति जात्राको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा पुरानो बजार स्थित ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवम् धार्मिक महत्वको भीमसेनलाई १०० तोला चाँदी तथा सुन र मणि माणिक्य जडित किंकम्पा र मुकुट अर्पण गरिएको सम्पदा संरक्षकका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
यसअघि चौताराका युवाहरूले बाजागाजा सहित रन्जीतकार समाजलाई स्वागत गर्दै बजार देखी भीमसेन मन्दिरसम्म स्वागतका साथ ल्याएका थिए । समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले सबै धर्म संस्कार र सस्कृती मध्य चौतारामा रहेको पुरानो बजारको भीमसेन मन्दिरका कारण नगरपालिका मात्र होइन जिल्लाकै पहिचानका साथ पर्यटन विकासमा ठुलो सहयोग पुगेको बताउनु भयो । उहाँले भक्तपुर बासीलाई विशेष धन्यवाद दिँदै सबैले मान्दै आएका धर्म, सस्कृती रीतिरिवाजलाई संरक्षण गरेर यस्ता इतिहास बोकेका धार्मिक स्थलको संरक्षण गरिरहन पर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व माननीय कृष्णराज श्रेष्ठले चौतारामा रहेको भीमसेनका बारेमा जानकारी दिँदै भरियाहरूले ल्याएर राखी दिएको र घरमा लगेर पूजा गर्दा पनि मूर्ति आफै घरबाट हराएर अहिले मन्दिर भएको स्थानमा आइ बसेकाले यही स्थापना गरेर पूजा गर्न सुरु गरिएको बताउँदै गौराती मेलामा यहाँबाट रथ लाने प्रचलन सुरु भएको जानकारी दिनु भयो । नगर उपप्रमुख सिता थापा प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा जिल्ला प्रहरी उपरीक्षक सन्तोष खड्का लगायत जिल्ला तथा नगरका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थितिमा भएको कार्यक्रममा वडा नं। ५ का वडा अध्यक्ष शिव श्रेष्ठले चौताराको इतिहासलाई सबै सामु प्रचार गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै सबैमा स्वागत गर्नुभएको थियो । हरि गोपाल श्रेष्ठले सञ्चालन गर्नु भएको समारोहलाई सम्बोधन गर्दै मूर्तिकार रवि शाक्यले देसैभरीको भीमसेन मन्दिरहरूको तथ्याङ्क सहित इतिहासका बारेमा जानकारी लिई रहेको र यसपछि सबैलाई जानकारी हुने प्रकारले प्रचार गरिने बताउनु भयो । सम्पदा संरक्षण गुठीका संयोजक रविन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो ।