नेपालकै प्रसिद्ध गौराती मेला आजदेखी सुरु भएको छ । सिन्धुपाल्चोकको प्रख्यात एवम् ऐतिहासिक गौराति भीमेश्वरको मेला का लागी जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले सुरक्षाका सबै प्रबन्ध मिलाएको छ भने जात्रामा आउँनेहरुका लागी समस्या हुन नदिनका लागी प्रशासन चनाखो भएको छ ।मेला भर्न जाने भक्तजनको सुविधाको लागि खानेपानी र विद्युतको व्यवस्था मिलाइएको छ । मेलामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय क्लबका समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको छ । चौतारा पुरानो बजारस्थित भीमसेनलाई रथमा राखि गौरातीस्थित भीमेश्वर मन्दिरमा पु¥याएपछी सुरु हुने जात्रा पुनः भीमसेनलाई गौरातिबाट फर्काएर आफ्नै घरमा विराजमान गराएपछि समापन हुन्छ ।भीमसेन महाराजको पुरानोबजारको खास घरबाट गौराती भीमेश्वरसम्मको यात्रा नै वास्तवमा “गौराती जात्रा“ भएको सम्पादा गुठीका संयोजक रबिन्द्र श्रेष्ठले बताउँनु भयो । राजधानी काठमाडौँदेखिको मध्यपूर्वमै चर्चित यो मेला हरेक वर्ष कात्तिक पूर्णिमाका दिन भव्य रुपमा लाग्ने गर्छ । पूर्णिमादेखि पाँच दिन पञ्चमीसम्म चल्ने छ ।
सदरमुकामबाट चार किलोमिटर उत्तरमा चौतारा साँगाचोकगढी नगरपालिका–६ गौरातिमा अवस्थित गौराति भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् । पूर्णिमाको दिन साँझ मन्दिरको चारैतिर अखण्ड दीपप्रज्वलन गरी नरनारीहरु रातभर जाग्राम बसेर भजनकिर्तन सहित भक्तिपूर्व भीमेश्वरको पूजाअर्चना गर्छन् । चौतारा पुरानो बजारबाट गुठीयारहरुले चौतारा भीमसेनको रथलाई सोही दिन राति गौराति पु¥याएर भीमेश्वरसँग मिलन गराउँछन् । यो रथलाई सन्दुरे यात्रा गरी पुनः चौतारामा ल्याई विधिवत रुपमा मेला विसर्जन गरिन्छ ।
यसरी फर्काइएको भीमसेनको रथमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला न्यायाधीशले बोको बली दिइ प्रशाद खुवाउने प्रचलन छ ।मनोकांक्षा पूरा हुने, शक्ति प्राप्त हुने र पापबाट मूक्ति मिल्ने विश्वासका साथ जिल्लावासी तथा विभिन्न जिल्लाका हजारौँ भक्तजनहरुको गौराति भीमेश्वरको पूजाआजा गर्न घुँईचो लाग्छ ।सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कायम राख्दै मेलालाई ठूलो चाडका रुपमा मनाउँदै आएका छन् ।साविक पीपलडाँडा गाविसमा पर्ने हालको गौराति डाँडामा भीमेश्वर उत्पत्ति भएको विश्वासका साथ पूजाआजा सुरु भएको किम्वदन्ती छ । गाइले राति दुध चढाएपछि त्यसडाँडाको नाम गौराति रहन गएको धार्मिक विश्वास रहिआएको छ । हालको गौरातीडाँडामा भर्खरै व्याएकी गाइले सधैं लुकेर दूध चढाउने गरेको र सो स्थानबाट दिश्वयस्वरुप प्रकट भई ‘मेरो पूजाआजा गरे भलो हुने’ बताएपछि भीमेश्वरको उत्पति भएको विश्वासका साथ पूजाआजा सुरु भएको मान्यता रहिआएको छ ।२०५३ सालमा स्वर्गीय राजा विरेन्द्र र रानी ऐश्वर्यले शिलाअनावरण गरेको मन्दिर चार सय ३९ वर्ष भन्दाबढी पुरानो मानिएको छ । यस वर्ष मेलालाई उत्सवकै रुपमा मनाउन विभिन्न सामाजिक संघसंस्थाले मन्दिर स्थललाई सफा र झिलीमिली बनाइएको छ । २०७२ वैशाख १२ गतेको बिनासकारी भूकम्पले महाकाली र सरस्वतीको मन्दिर भत्काएको थियो । स्वर्गीय पिता हरिप्रसाद अधिकारीको सम्झनामा तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विश्व अधिकारीले करिव २ लाख रुपैयाँ खर्च गरेर दुबै मन्दिर दुरुस्तै नवनिर्माण गर्नु भएको थियो । यो मेलामा देशका चितवन, भैरबा लगाएतका देसै भरीका भक्तजनहरु आउँने गरेको पाइन्छ ।
