दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतारकतारमा “बृहत् रक्तदान कार्यक्रम“ भव्य रूपमा सम्पन्न भएको छ । परियार मित्रता समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रवार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा परियार मित्रता समाज कतारका अध्यक्ष सुमन परियारले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । १०५ जना उपस्थिति रहेको कार्यक्रममा ५५ जनाले रक्तदान गर्नका लागी रजिस्ट्रेसन गरेका थिए। जस मध्य ४१ जनाले रक्तदान गर्न सफल भएको र १४ जना रक्तदान गर्नबाट वञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो ।
“मानवीय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम संयोजक बालन परियारले धन्यवाद प्रकट गर्नुभएको थियो । रक्तदान जस्तो पवित्र र पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाइदिनुहुने सम्पूर्णलाई समाजका अध्यक्ष सुमन परियार नेपालले धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्नुभयो । “ रक्तदान जीवनदान“ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक संस्थाहरू समाजसेवी,पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । शुक्रवार बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा अन्तिम रक्तदान समाजका महासचिव प्रताप चाहर मुस्कानले गर्नुभएको थियो ।
