सम्पर्क

काँठे लोकभाकाका तारा सरोज लामिछाने

चण्डीका नेपाली
काँठे लोकभाकामा ख्याति कमाउनुभएका सरोज लामिछाने गायन र सङ्गीत सिर्जनामा मात्रै होइन अभिनयमा समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ । गायक तथा सङ्गीतकार लामिछाने आफ्नो गीतमा प्रायः आफैँ नै अभिनय गर्नुहुन्छ । ‘नरुनु है ए आमा’ गीतबाट गायन थाल्नुभएका सरोजका धानको बाला, बदाम खाको, सुन जस्तो पित्तल, हे मेरो सानु, कोठा भाडा तिर्दिनी मैले हो, मुसौरी, दुई खोली दोभान, खोली तरेको, मुड आयो लगायत दर्जनौँ गीत लोकप्रिय छन् । सामाजिक कथावस्तु, जनजीवनका व्यथा, निश्चल माया प्रेमकथा सरोजका गीतका विशेषता हुन् । त्यसैले पनि मेला, जात्रा, महोत्सव, पर्व, बिहे, व्रतबन्ध जस्ता उत्सवमा सरोजका गीतले स्थान पाउने गर्छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३, फटकशिलामा जन्मिनुभएका लामिछाने सानै देखि गायनमा रुची राख्नुहुन्थ्यो । स्कूले जीवनमासमेत उहाँलाई पढाईले भन्दा बढी गायन र अतिरिक्त क्रियाकलापले तान्थ्यो । स्कूलमा हुने विभिन्न कार्यक्रममा उहाँको गायनको खुलेर तारिफ हुन्थ्यो । शिक्षकहरु र साथीहरू उहाँलाई यसमा लागिरहन उर्जा र प्रोत्साहन दिन्थे । गाउँमा एसएलसी सम्मको अध्ययन सकेसगै उहाँ कलाकार बन्न काठमाडौ छिर्नुभयो । व्यवसायीक कलाकार बन्ने उदेश्य राखेर सहर छिर्नुभएको उहाँँलाई कलाकार कसरी बनिन्छ भन्ने थाहा थिएन । गीतका क्यासेट र सिडि बेच्न राखेका हरेक पसलमा यहाँ गित रेकर्ड गरिन्छ हो भनेर उहाँ सोध्न पुग्नुहुन्थ्यो । काठमाडौं छिरेर संघर्ष गर्दा–गर्दा दिक्क लागेर कुनैदिन गायक बन्न सजिलो छैन् भन्दै निरास हुनुभयो उहाँ । ‘पछि गायक गोकुल राउतलाई भेटेपछि केही आशा पलायो । र अब आफू गायक बन्न सक्छु भन्ने आँट पनि आयो’, उहाँ भन्नुहुन्छ , ‘राउतको पुजा म्युजिक कम्पनीमा गएपछि गीत रेकर्डिङको बारेमा धेरै कुरा बुझेँ ।’ त्यो समयमा उहाँलाई भोजराज काफ्लेको प्रोत्साहनले पनि ठूलो भुमिका खेलेको थियो ।