सम्पर्क

विपद जोखिम न्यूनीकरण र पुर्वसुचना प्रणाली सुढृढिकरणका लागी छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न

 

दिपिन ढुंगाना
सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपको जोखिम उच्च रहेको जिल्ला हो । बर्षेनी लाखौ मात्रमा विपदजन्य घटनाहरुबाट क्षति हुने गर्दछ । खास गरी मनसुन जन्य विपदहरुबाट सिन्धुपाल्चोक जिल्लामा व्यापक क्षति हुने गरेको छ । २०७८ सालको मेलम्ची बाढी पश्चातका वर्षहरुमा बाढी तथा पहिरोले व्यापक असर पुर्याएको छ ।विपदको क्षतिलाई न्युन गर्नको लागी मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा बाढी तथा पहिरोमा आधारित पुर्वसुचना प्रणाली विकास हुँदैछ । मानविय क्षति रोक्न तथा धन सम्पतीको रक्षाको लागी पुर्वसुचना प्रणालीकोे अहम भूमिका रहेको हुन्छ । बाढी तथा पहिरोमा आधारित पुर्वसुचना प्रणालीको विकास सिन्धुपाल्चोक जिल्लाको अन्य पालिकाहरु तथा देशको अन्य जोखिमयुक्त स्थानहरुमा गर्न सकिएमा जनधनको क्षतिलाई कम गर्न सकिन्छ ।सिन्धुपाल्चोक जिल्लाको विपद्को जोखिमहरुलाई कम गर्ने उद्धेश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितीले स्थानीय देखी राष्ट्रिय तहका सरोकारवाला निकायहरु बिच पुर्वसुचना प्रणाली र विपद् जोखिम न्यूनीकरणको निती नियम तथा योजनाहरुको सुढृढिकरणको लागी अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।सहभागी तथा अतिथीहरुलाई स्वागत सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद फोकल व्यक्ती जितबहादुर भण्डारीले गर्नु भएको थियो ।कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रतीनिधी सभा सदस्यहरु मोहन बहादुर बस्नेत (क्षेत्र नम्बर २), माधव सापकोटा ‘सुबोध’ (क्षेत्र नम्बर १), आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, बागमती प्रदेशका सदस्यहरु युवराज दुलाल,सरल सहयात्री पौडेल, कृष्णकुमार तामाङ (समीर),माइली तामाङ, कुमारी तामाङको उपस्थिती थियो ।साथै, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला स्तरीय क्लस्टर प्रमुखहरु, स्थानीय पालिका प्रमुख तथा उपप्रमुखहरु, वडा अध्यक्षहरु, विपद फोकल व्यक्तीहरु, उद्योग वाणिज्य सङ्घ, सामुदायिक विपद व्यवस्थापन समितीका सदस्यहरु,स्थानीय व्यक्तीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा पुर्वसुचना र विपद विज्ञहरु तथा जल मौसम विज्ञान विभागको मौसम विज्ञको समेत प्राविधिक प्रस्तुती रहेको थियो ।पुल्चोक इन्जिनीरिङ्ग अध्ययन संस्थानका प्राध्यापक डा. बसन्तराज अधिकारीले सिन्धुपाल्चोकको विपद् जोखिम र र्भौगर्भिक अध्ययनको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।   २०७२ सालको भुकम्प पश्चात जमिन र माटो खुकुलो भएको र वर्षाद् भएपछि पहिरो र बाढी जान सक्ने सम्भावना उच्च रहेको उहाँले बताउनुभयो । विपद् सम्बन्धी निति नियम र योजना कार्यान्वयन गर्दा भौर्गभिक अध्ययन पहिलो प्राथमिकता हुनुपर्नेमा अधिकारीले जोड दिनुभयो ।सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र चिनको भु भागहरु सङ्ग जोडिएको र ति क्षेत्रहरु समेत उच्च जोखिम अवस्थामा रहेको हुँदा अन्तरदेशिय प्रकोपको बारेमा अध्ययन गर्नुपर्ने डा.अधिकारीले बताउनुभयो । नेपालको सन्दर्भमा ६० प्रतिशत पहिरोहरु प्राविधिक अध्ययन बिना जथाभावी तवरले निर्माण गरिएको सडकको कारणले हुने गरेको प्रतिवेदनको निष्कर्ष रहेको जानकारी दिनुभयो ।जोखिमयुक्त स्थानहरुमा बस्ती निर्माण गरिएको र न्युनतम प्राविधिक ज्ञान र प्रविधीको प्रयोग नहुँदा विपदको घटना र क्षति हुने गरेको छ । अध्ययन र अनुसन्धानबाट पहिरो जाने स्थानहरु पता लगाउने प्रविधी र भु उपग्रहहरुको सुचनाहरु लिन सकिए पनि सही प्रयोग र लाभ लिन नसकिएको अधिकारीले बताउनुभयो । भौतिक निर्माण गर्दा विपदको घटनाहरु घट्न सक्ने अवस्थाको विशेष ख्याल राख्नुमा विज्ञहरुले जोड दिएका थिए ।कार्यक्रममा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले अहिले बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर नेपालमा रहेको र जैविक विविधता, खाद्यसुरक्षा, कृषि क्षेत्रमा ठुलो असर पारेको बताउनुभयो । नेपालको अवस्थालाई हेर्ने हो भने विपद् हुनुको मुख्य कारण जलवायु परिवर्तन रहेको बताउनुभयो ।विपद्को पुर्वतयारी तथा प्रतिकार्यको लागी, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्युनिकरण प्राधिकरण, राष्ट्रिय आपतकालिन कार्यसंचालन केन्द्र, प्रदेश आपतकालिन कार्यसंचालन केन्द्र, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानिय विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायहरुको ठूलो भूमिका रहने उप्रेतीले बताउनुभयो । पूर्वसुचना प्रणालीमा नेपालमा विगत २० वर्ष देखी कार्य गर्दै आएको प्राक्टिकल एक्शनले सिन्धुपाल्चोकमा भने बहुप्रकोपमा काम गरिरहेको उप्रेतीले जानकारी दिनुभयो ।२४ घण्टा आगाडी प्राप्त हुने पुर्वसुचनाले विपदको क्षतिलाई ३० प्रतिशत सम्म कम गर्न सकिने र पुर्वसुचना प्रणालीसँग विपद जोखिम न्यूनीकरणको अन्योन्याश्रीत सम्बन्ध रहेको डा. उप्रेतीले स्पष्ट पार्नुभयो ।जलवायु परिवर्तनको कारणले गर्दा हानी तथा नोक्सानी बढिरहेकाले पूर्व तयारी रहनु पर्ने उहाँको सुझाव थियो । पुर्वसुचनाको भूमिका अहम रहेको हुँदा विशेष प्राथमिकतामा राख्नुपर्ने उप्रेतीले बताउनुभयो ।कार्यक्रमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव,पुर्णबहादुर दर्जीले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागी गरेका कार्यहरुको प्रस्तुती गर्नु भएको थियो । प्रदेश सरकारले आफ्नो निती कार्यक्रममा विपद जोखिम न्यूनीकरणका योजनाहरु समावेश गरी स्थानीय पालिकाहरुलाई सहयोग गरेको तर बजेट पर्याप्त नभएको स्विकार गर्नु भयो ।जल तथा मौसम विज्ञान विभागका मौसम विद जोसन महर्जनले विभागले गरी रहेका कार्यहरुको जानकारी गराउनुभयो । विशेष गरी मौसम पुर्वानुमान, पुर्वसुचना प्रणाली, बाढी पुर्वानुमान, प्रभावमा आधारित पुर्वानुमान, र जोखिम सन्चारको महत्व बारे स्पष्ट पार्नुभयो ।सिन्धुपाल्चोकको अधिकांश क्षेत्र बाढी एवम् पहिरोको उच्च जोखिममा रहेकोले त्यसको वैज्ञानिक अध्ययन गरि क्षती न्यूनीकरणको लागि पुर्वतयारी गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपालसँग विपद् संभाव्यता अध्ययनको पर्याप्त स्रोतसाधन रहेको जानकारी दिदैं त्यसले प्रभावकारी काम समेत गर्ने भएकोले अध्ययनमा जोड दिन सबै तहका सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।विज्ञहरुको प्रस्तुती पश्चात अन्तर्कृया कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले विपद्मा सङ्घ अन्तर्गत रहेका उद्योग तथा व्यवसायीहरुले कुनै कालाबजारी नगर्ने र खाध्यान्न तथा गैर खाध्यान्नको आपुर्तीको लागी राज्यलाई सहयोग गर्ने बताउनुभयो । विपद्ले सडकमा क्षति पुर्याउन सक्ने भएको हुँदा त्यस तर्फ निती निर्माता र कार्यान्वयनमा रहने सबै निकायहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।मेलम्ची बाढी प्रभावित क्षेत्रको संरक्षणका लागि संघिय सरकारले चासो नदिएको स्थानीय तहहरुले गुनासो गरेका छन् । विनाशकारी बाढीले मेलम्ची हेलम्बु क्षेत्रलाई तहसनहस बनाएको र क्षति तथा पुनर्निर्माणमा भारी बजेट माग रहेकोमा प्रदेश सरकारबाट न्युन बजेट विनियोजन भएकोमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुनासो गर्नुभयो । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारसँग ५ करोड रुपैयाँ माग गरेकोमा १५ लाख मात्रै विनियोजन गरेकोमा तामाङले प्रदेश सरकारलाई व्यङ्ग्यात्मक धन्यवाद ब्यक्त गर्नुभयो ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानिय सरकार एक्लैले विपद जोखिम न्यूनीकरण र पुर्वसुचना प्रणाली विकासका लागी कार्य गर्न नसकिने र प्रदेश तथा संघीय सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गर्नुभयो । बरु गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेकोमा धन्यवाद दिनुभयो ।कार्यक्रममा सहभागी मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानियहरुले तिनै तहका सरकारले विपद् पछिको पुनर्निर्माणमा पर्याप्त ध्यान नदिएकोमा आक्रोश पोखेका थिए । मेलम्ची बाढीको तीन वर्ष पूरा भइसक्दा पनि बाढी प्रभावितले आवास निर्माण अनुदान प्राप्त गर्न नसकेको उनिहरुको गुनासो थियो । ति क्षेत्रहरुमा बाढीले उल्लेख्य मात्रामा क्षति पुर्याएको र उच्च जोखिम रहेको हुँदा निती निर्माण तथा बजेट कार्यक्रममा प्राथमिकता राख्न माग गरेका थिए ।कार्यक्रममा प्रदेश सांसदहरु युवराज दुलाल, सरल सहयात्री पौडेल, कृष्ण कुमार तामाङ (समीर) र कुमारी तामाङले समेत विपद् व्यवस्थापनमा प्रदेश सरकारको तर्फबाट आफुहरुले सक्दो सहयोग गरिरहेको दावि गर्दै आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको बताएका छन् ।कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री मोहनबहादुर बस्नेतले विपदमा आफुले तुरन्तै प्रतिकार्यहरुमा सहभागी भएको र भावी दिनहरुमा विपद प्रतिकार्य र पुर्वतयारीको लागी नितीगत तथा बजेट विनियोजनका लागी आवश्यक सहयोग गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।कार्यक्रमको समापन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले गर्नभएको थियो । विपद जोखिम न्यूनीकरण तथा बहुप्रकोपमा आधारित पुर्वसुचना प्रणालीसँग सम्बन्धित नितीगत छलफल कार्यक्रममा उपस्थित सबैलाई धन्ववाद ज्ञापन गर्दै थापाले सिन्धुपाल्कोक जिल्लालाई विपद् तथा प्रकोपले बारम्बार दुख दिने हुँदा नितिगत हस्तक्षेप गर्नुपर्ने बताउनुभयो ।विपद पुर्वतयारी तथा प्रतिकार्य योजनाहरुलाई दिगो र प्रभावकारी बनाउनको लागी सल्लाह र सुझावको आवश्यकतालाई औल्याउनुभयो । जिल्लामा रहेका कार्यालयहरुमा विपद पुर्वतयारी तथा प्रतिकार्यका लागी बजेट नभएको हुँदा निती निर्माण तहमा रहेकाहरुले सो प्रकारको निती नियमहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।स्थानीय पालिकाहरुले विपद मैत्री योजनाहरुको तर्जुमा र कार्यान्वयन गर्नु पर्नेमा अनुरोध गर्दै थापाले पुर्वसुचना प्रणालीको विकास तथा दिगोपनामा स्थानीय पालिकाहरुले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा ठुला नदीहरु र जोखिम समेत रहेको हुँदा पुर्वसुचना प्रणाली र नदी संरक्षण कार्यक्रमहरु आवश्यक रहेको उहाँको भनाई थियो ।पुर्वसुचना तथा विपद जोखिम न्यूनीकरणका लागी विशेष सहयोग गर्ने प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चलाई धन्यवाद प्रदान गर्दै सिन्धुपाल्चोक जिल्लाको अन्य पालिकाहरुमा समेत पुर्वसुचना प्रणाली विकास र प्रशारणका लागी अनुरोध गर्नुभयो । विपद जोखिम न्यूनीकरण र पुर्वसुचना निर्माणका लागी सबै सरोकार निकायहरुको नितिगत तथा कार्यान्वयन तहमा विशेष भूमिका र सहयोगको अपेक्षा रहेको थापाले बताउनुभयो ।