गोल्मादेवी कृषक समुह चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.७ सानोसिरुवारीले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) पार्खिबास धनकुटासँगको साझेदारीमा संचालन हुन गईरहेको गोल्मादेवी व्यवसायीक तरकारी उत्पादन तथा बजारीकरण उप–आयोजनाको बारेमा स्थानीय सरोकारवालाहरुलाई जानकारी दिने उदेश्यले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले नगरपालिकामा स्रोत र साधनहरु सिमीत रहेको छ तर समुह, कृषक र स्थानीयहरुको आवश्यकता धेरै रहेको हुँदा नगरपालिकाले चाहादा चाहादै पनि सहयोग गर्न नसकिएको बताउनुभयो । धेरै जस्तो समुह सहकारी र कृषकहरुले प्रक्रिया पुरा नगरी कार्यक्रमहरु माग गर्ने हुँदा सहयोग गर्न नसकिएको समेत बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका कृषि शाखा प्रमुख चिरञ्जिवी कट्टेलले नगरपालिकाबाट समुहलाई गर्न सक्ने सहयोगहरु निरन्तर गरिरहने बताउनुभयो । मन्तव्यकै क्रममा वडा नं. ७ का वडाध्यक्ष डम्बर बहादुर तामाङले वडा कार्यालयबाट किसान समुहलाई गर्न सक्ने सहयोगमा कुनै कसुर बाकी नराख्ने बताउनुभयो ।
यस्तै परियोजनाका प्रतिनिधी गणेश राउतले आयोजनाले गरिरहेको कार्यक्रमहरु र उप–आयोजनाका लागि आवश्यक प्रक्रियाबारे जानकारी गराउनुभयो । आयोजनाको २९ लाख ६८ हजार ४ सय ७१ लाभग्राहीहरुको ३९ लाख ११ हजार ५ सय २७ गरि कुल लागत ६८ लाख ७९ हजार ९ सय ९८ मा आगमी वर्षको २०८२ को जेठ ३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ । गोल्मादेवी कृषक समुहको अध्यक्ष महेश धितालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडाभित्रका विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडा सचिव, समुहका सदस्यलगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम समुहका सदस्य पवित्रा डोटेल (नेपालले) संचालन गर्नुभएको थियो ।
उक्त समुहका १० जना पुरुष र ९ जना महिलागरी १९ जना सदस्यहरुले व्यवसायिक रुपमा तरकारी उत्पादन गरी आयआर्जनमा वृद्धि गराउने उदेश्य रहेको समुहका अध्यक्ष महेश धितालले जानकारी दिनुभयो ।
