काठमाडौं, १९ असोज । सांसद भगबती चौधरीले शिक्षा विधेयकले शिक्षक, विद्यार्थीहरुको समग्र माग र विषय संवोधन गर्न नसकेको बताउँनु भएको छ । शुक्रबार संसदमा शिक्षा विधेयक २०८० माथि बोल्दै सांसद चौधरीले विधेयकले केही समय अगाडी मात्रै आन्दोलनरत शिक्षकहरुका माग र मुद्दा समेत नसमेटेको भन्दै विधेयकमाथि पुनः छलफल चलाईनुपर्ने बताउँनु भयो।
सांसद चौधरीले सरकारले शिक्षकहरुसँग गरेको सम्झौताहरु संसदमा टेवुल गर्नुपर्ने बताउँदै‘शिक्षा विधेयक कसको लागि ल्याउँदैछौं, कस्तो हुनुपर्ने, शिक्षा विधेयकमा प्राथमिक, माध्यामिक तहको शिक्षा कस्तो हुनुपर्ने, त्यहाँको जनशक्ति कसरी ब्यवस्थापन गर्ने भन्ने विषय नआइकन शिक्षकहरुले आन्दोलन गरेकोले शिक्षकहरुले उठाएका माग र मुद्दा समेटिन पर्छ भन्नु भयो । शिक्षा विधेयकमा सरोकारवालाहरुसँग छलफल नहुँदा नेपालको शिक्षा नीति कमजोर बनेको बताउँदै सांसद चौधरीले अहिले नेपालको शिक्षा कस्तो छ भन्ने कुरा सबैले बुझि सकेको बताउँनु भयो् । उत्पादनमुखी, गुणस्तरीय, शिक्षक, बालबालिका केन्द्रीत कस्तो शिक्षा प्रणाली हो, मेथोलोजी कस्तो छ भन्ने विषय विधेयकमै तय भएर आउनु पर्ने बताउँदै चौधरीले विधेयक संसदमा पुनः टेवुल हुनुपर्नेमा जोड दिनुभयो।यसअघि संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले चाडपर्वका बेला हुने कालोबजारी, महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराउँनु भएको छ । चाडपर्वका बेला बजार अनुगमन र मुल्यांकन प्रभावकारी बनाउनु पर्ने चौधरीको माग रहेको छ । यसै गरी मिटरब्याज पिडितका लागि न्याय सम्पादनमा सरकारको ध्यानाकर्षणसमेत गराउँनु भएको छ ।
