सम्पर्क

प्रचण्डको ब्यथा ः सत्तलसिंहको कथा

 भवानी बराल
करिव एक महिना अगाडिको कुरा हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस सेण्टर नेपालको साधारणसभालाइ सम्बोधन गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रमममा मैले आयोजकलाइ पाँच मिनेट समय माग गरेको थिएँ । मैले त्यहाँ प्रधानमन्त्रीलाइ पाँच मिनेटमा सार्वजनिकरुपमा दन्त्य कथा सुनाउँछु भनेको थिएँ । आयोजकको समय अभावले हो वा कथाको महत्व नबुझेर मलाइ समय उपलब्ध गराएनन् ।
भोलीपल्टको कार्यक्रममा मलाइ बोल्न दिइयो । प्रधानमन्त्रीको उपस्थिति नभएकोले मैले त्यहाँ यो कथा सुनाउने जरुरत सम्झिन । हुनतः प्रचण्ड प्रधानमन्त्री भएदेखि नै मैले यो कथा सुनाउने विचार गरेको थिएँ । तर त्यस्तो अवसर मिलेन । अब मिल्छ मिल्दैन भनेर नै मैले यो कथाको माध्यमबाट यो लेख सार्वजनिक गर्दैछु ।
प्रधानमन्त्री प्रचण्डले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीको रुपमा अन्तिम ‘इनिङ’ भनेर एकाध पटक दोहो¥याएका छन् । यो वाक्यलाइ कतिले ख्याल गरे गरेनन त्यो त थाहा भएन । तर संसदको अभिलेख पल्टाएर सुन्यो भने हेक्का हुन्छ । यहि कुरालाइ महत्व दिएर कथा सुनाउन खोजेको थिएँ । कथा यस्तो छ, एका देशमा सत्तलसिंह नाम गरेका एउटा राजा थिए ।
एक दिन राजा फौजको लावालस्कर, बन्दोबस्तीको सामानसहीत सिकार खेल्न जंगल गएछन । दुर्भाग्यवस जंगलमा सिकार पनि पाइएन र राजा पनि जंगलमा हराएछन् । धेरै खोजी गर्दा पनि राजा नभेट्टिए पछि सिकार गर्न गएको लावालस्कर दरबार फर्कियो ।
लावालस्कर फर्किने बाटोमा कतै राजा आइपुग्लान र बाटो भेट्टाउन सजिलो होस भनेर उनीहरुले दुइ वाक्यको यस्तो संकेत लेखेर छोडेछन, ‘सुरो छौ त सत्तलसिंह राजा हामी तीर आउ । काँतर छौ त सत्तलसिंह राजा लोहासुरको बाटो जाउ ।’
राजालाइ लेखेको यो सन्देस जंगलमा गोठालाहरुले पहिले देखेछन् । उरण्ठेउला गोठालाहरुले यो सन्देसलाइ ठीक उल्टो पारेर लेखेछन, ‘सुरो छौ त सत्तलसिंह राजा लोहासुरको बाटो जाउ ।
काँतर छौ त सत्तलसिंह राजा हामी तीर आाउ ।’ यसरी उल्टो लेखेर त्यही ठाउँमा राखिदिए । केही समयपछि राजा त्यहाँ आइपुगे । भारदारले लेखेको होला भनेर पढे । राजा न हुन उनलाइ ‘काँतर छौ त हामी तीर आउ’ लेखेको वाक्यले विचलित र उत्तेजति बनायो ।
दरबारीयाले लेखेको भनिएको बाटो जान उनको महत्वाकांक्षाले मानेन । सुरवीर हुनको लागि सिधै दरबारिया गएको बाटो नगएर काँतरको पगरी नगुथ्न लोहासुरको बाटो लाग्ने विचार गरे ।
त्यो घनघोर जंगलमा लोहासुर नाम गरेको एउटा राक्षस बस्दो रहेछ । त्यो राक्षसले खाजामात्रै १० मुरी फलामको च्युरा खाने । अट्टाहास लगाउँदा पुरै जंगल थर्किने । कसैले मार्न नसकेको अजंगको लोहासुरको बाटो लागेपछि राजा पनि नराम्रोसंग फसे ।
तर उनको महत्वाकांक्षाले फर्किएर काँतर भनी कहलाउन पनि दिँदैनथ्यो ।
अनेक सहयोग, जुक्तिबुद्धि लगाएर राजाले लोहासुरको बध गरे । र, देश पुगे त्यहाँ उनको ठूलो सम्मान भयो ।
प्रजाहरु पनि राजाको पराक्रम देखेर गदगद भए । कथाको सारसंक्षेप यति नै हो । यतिखेर प्रधानमन्त्री प्रचण्ड त्यही सत्तलसिंह राजाको नियतिमा छन ।
देशको भ्रष्टाचार लोहासुरको आयतनभन्दा पनि ठूलो छ । एउटै बालुवाटार (ललिता निवास) भ्रष्टाचार प्रकरणमामात्र चारसय बढी आरोपी पुगिसकेका छन् । तीन दर्जन बढी नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै तानिएका छन । यी दुइ काण्डमा मात्र ‘हाइ प्रोफाइल’हरु दर्जनौंको संख्यामा जोडिएका छन ।
यिनलाइ चोख्याउने प्रपञ्च गरेको खण्डमा भोली तिनले सत्ताको साँचो प्रचण्डको हातबाट खोसेर उनलाइ नै सिकार बनाउने निश्चित छ । जनता जनार्दनको आँखाबाट त सदाको लागि अस्ताउनु पर्नेछ ।
संसदमा उपस्थित हात्ती पार्टीको विरुद्ध जाने गणित माओवादी पार्टीसंग छँदैछैन । अहिल्यै पनि भ्रष्टाचारविरुद्ध विषयान्तर गर्ने नाजायज प्रयास ती दलहरुबाट भैरहेको छ । झिनामसिना मुद्धाहरु जन्मसिद्धका सन्तानलाइ नागरिकता दिने विषय, अमुक प्राद्यापकले चुटाइ खाएको विषय भ्रष्टाचारको मुद्धालाइ विषयान्तर गर्ने प्रतिपक्षी पार्टीको सूची हुँदै आएको छ ।
यसको प्रतिवाद सत्ता साझेदार दलले एक मतले दिन सकेकै होइन । माओवादी पार्टी भित्रैबाट पनि प्रतिवाद जुन हदमा हुनु पर्ने हो त्यो हदमा भएको छैन । धेरै माओवादी नेताहरुले मौनव्रत धारण गरेका छन् ।
मुर्दा शान्ति ः
यतिखेर देश शान्त छ । यसको अर्थ यो होइन की भ्रष्टाचार प्रकरण सामसुम होस या अन्यत्र मोडिन्छ । भ्रष्टाचार प्रकरणलाइ यथार्थ निश्कर्षमा पु¥याउन नसकेको अवस्थामा के हुन्छ अहिले नै भन्न सकिने स्थिति छैन । मुलुकको निम्ति यो गम्भीर घुम्ती हो । प्रचण्डले यतिखेर सत्तलसिंहले एउटा राक्षसलाइ बध गरे जत्तिकै काल्पनिक कुरामात्र यो प्रकरण सम्बन्धित होइन । यथार्थ धरातलमा देखिएको दशकौंदेखिको यो बेथिति हो । भ्रष्टाचार विरुद्धको नयाँ विद्रोह गर्नु जत्तिकै यो प्रकरण गम्भीर छ । यो बेथितिको अन्त्य गर्नुको अर्को विकल्प प्रधानमन्त्री प्रचण्डसंग छैन । प्रधानमन्त्रीले यतिखेरसम्म शंकाको सुविधामात्र पाएका हुन ।
भ्रष्टाचार विरोधी यो अभियान हो होइन अहिलेसम्म आम समुदायमा विश्वास पलाइ सकेको छैन । आम समुदायको नजरमा यो अभियानलाई सकारात्मक चक्षुले हेर्ने गरिएको कमै पाइएको छ । अमुक दल र नेतालाइ दबाबमा राख्न वा प्रतिषोध साँध्नको लागि गरिएको कार्वाहीको रुपमा बहुप्रचारित छ । साना माछा समाएर ठूला माछालाइ उन्मुक्ति दिन खोजिएको रुपमा पनि प्रचारमा छ ।
घटनाका मतियारलाइ बलीको बोको बनाएर घटना सामसुम पारिने अडकलबाजी पनि त्यत्तिकै चर्चामा छ । केवल सत्तासाझेदार दललाई कज्याउन ल्याइएको तुरुप हो भन्ने विषयको खण्डन पनि भैसकेको छैन । अनुसन्धान गर्ने प्रहरीमा केही भरोसा जनताले देखाउन थालेका छन । काठमाण्डु जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा थुनामा राखेर आरोपीलाइ अनुसन्धान गर्न र बाँकी अनुसन्धानलाइ पुरा गर्न दिएको निर्देशनलाई मात्र जनताले आशा पलाएको अर्थमा लिएका छन् । यो संगसंगै उपल्लो अदालतमा पुगेपछि मुद्धा ढिसमिस हुने हो की भन्नेमा समुदाय अझै सशंकीत छन् अदालतका विगतका फैसलालाइ हेरेर ।
रहलपहल ः
भ्रष्टाचारको यो नालीबेली यति मै सिमित हुने विषय पनि त्यत्तिकै घातक हुनेछ । जति भ्रष्टाचारका फाइलहरु खुल्दै जानेछ त्यतिनै हाइ प्रोफाइल नेता, व्यापारी, उद्योगपति तानिदै जानेछन् । आसेपासे पुँजीवादमा विचरण भैरहेको मुलुकमा भ्रष्टाचारको निर्मलीकरण त्यति सहज कार्यक्रम भने हुँदै होइन ।
अहिले त एकाध अनियमितताको फाइल खोल्दा वा अनुसन्धान गर्दामात्र पनि राष्ट्रिय हडकम्प मच्चिएको छ । यसरीनै वहुदलीय व्यवस्था पुनस्थापना पछिका फाइल खोल्दै जाँदा मूख्य राजनैतिक दलका असंख्य नेता, कैयौं कमचारीहरु चिसो छिँडीको बास हुने निश्चित छ ।
प्रधानमन्त्री प्रचण्डलाई लोहासुरको बाटो जाने बाहेक अर्को मार्ग बन्द छ ।
भ्रष्टाचार प्रकरणको उठान त भएको छ । तर यसको बैठान कसरी हुन्छ त्यही समयमा यसको औचित्य सावित हुनेछ । यतिखेर राज्यका तीन अंग नै अविश्वसनीय भैरहेको बेला यसको तापक्रमको अन्दाज गर्न कठिन छ ।
नेताहरुले भन्दै गरेको ‘सच्चिने की सक्किने’ भ्रष्टाचार प्रकरणको पटाक्षेप भएपछि मात्र थाहा
लाग्नेछ ।