सम्पर्क

कृषी र पशुपालनबाट समृद्ध बन्दै चौतारा

रुपक पुरी / चौतारा
नेपाल कृषिप्रधान मुलुक भए पनि बर्सेनि अर्बाैं रुपैयाँको खाद्यान्न, फलफूल, माछामासु र तरकारी आयात भइरहेको छ । तीनै तहका सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेपनि कृषिक्षेत्र अझै पनि व्यावसायिक हुन् सकिरहेको छैन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भने कृषि र पशुपालनमा बजेट बढाएर कृषकलाई अनुदान दिँदा नगर अहिले कृषि र पशुपालनबाट समृद्ध बन्ने लयमा पुगेको छ ।
कृषककै लागि भनेर नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । कृषि र पशुपालन क्षेत्रमा नगरले गरेको महत्वपूर्ण काम भनेको उन्नत जातका बिउबिजन वितरण तथा कृषकलाई तालिम दिनु हो । नगर कृषिमा यन्त्रीकरण गर्न सफल भएको नगरपालिकाको उपप्रमुख सिता थापाले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले नगरमै बोलाएर ५६ जना कृषकहरुलाई ट्याक्टर तथा अन्य कृषि समाग्री वितरण गरेको छ ।
कृषि शाखा प्रमुख रामहरी दाहालका अनुसार नगरले १५ लाख खर्चेर प्रति वडा ४ वटाको दरले ५६ वटा ट्याक्टर खरिद गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका भित्र १४ वडा छन् । चालु आर्थिक वर्षमा मात्रै कृषि औजार तथा सामाग्री १४ वटै वडामा गरी ६ करोड ५० लाख मूल्य बराबरको माग मध्ये ट्याक्टरको मात्रै ५ करोड मूल्यको एकहजार एकसय ११ वटा माग भएको कृषि शाखा प्रमुख दाहालको भनाई छ । नगरले एक ट्याक्टरको ४५ हजार रुपैया हालेर ल्याएको हो । जसमा उपभोक्ताले ५० प्रतिशत अनुदान अर्थात २२ हजार ५ सय तिर्नुपर्ने छ । अन्य सामाग्री समेत नगर कृषि शाखाले किसानहरुलाई क्रमशः वितरण गर्दैै जाने उहाँले बताउनुभयो ।

खेतबारी जोत्न संधै गोरु पाल्ने गरेकोमा पहिलोपटक अनुदानमा ट्याक्टर पाउन सफल भएको चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेकी कल्पना नेपाली खुसी हुनुहुन्छ । किसानले नगरबाट अनुदानमा कृषि औजार तथा सामाग्री प्राप्त गर्न पाउनु किसानमुखी कार्य भएको अनुदानमा ट्याक्टर पाउने मध्येका ईर्खुका दलबहादुर दंगालको तर्क छ ।
नगरपालिकाले सुत्केरी गाई भैसीका लागि पोषण प्रोत्साहन अनुदान समेत दिदै आएको छ । नगरपालिकाले यो आर्थिक वर्षबाट सुत्केरी गाई भैंसीका लागि पोषण प्रोत्साहन अनुदान दिन थालेको हो ।
नगरपालिका अन्तर्गतको पशु सेवा शाखाको कार्यक्रम अनुसार साउन १ गतेबाट सुत्केरी भई दुध दिंदै गरेका गाई भैंसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलव्ध गराईएको छ ।
पालिकाभित्र दुधालु पशुपालनलाई प्रोत्साहन गर्ने उदेश्यले अनुदानको व्यवस्थापन गरेको पशु सेवा प्राविधिक रविन्द्र सापकोटाले जानकारी दिनुभयो । गर्भीणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले नगरबाट अनुदान योजना ल्याइएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले प्रति सुत्केरी गाईभैंसी बराबर रु २५ सय नगद किसानलाई उपलव्ध गगराउने गरेको छ ।
पोषण अनुदानका लागि किसानले सम्वन्धित वडाको सिफारिस पत्र, पशु विमा पोलिसी प्रतिलिपि, सुत्केरी गाई वा भैंसीको बच्चसहितको रंगिन फोटो र सम्वन्धित पशु धनीको नागरिकताको प्रतिलिपि नगरपालिकाको पशु सेवा शाखामा बुझाउनु पर्ने छ ।
दुधमा नगरपालिकालाई आत्मनिर्भर घोषणा गर्ने तयारीमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले दुध उत्पादनका लागि पशुपालक किसानहरुलाई खोर निर्माण देखि दुध उत्पादन लगाएतमा अनुदान दिएको छ । यसले किसानहरुलाई केही मात्रमा राहत मिलेको कुविण्डेका होमनाथ नेपाल बताउँनुहुन्छ । सोही अनुसार नेपालले खोर थप व्यवस्थित गर्नको लागि नगरबाट एकलाख अनुदान प्राप्त गरेको सुनाउनुभयो ।
उहाँका अनुसार नगरले किसानको लागि प्रतिलिटर ३ रूपैया सहकारी मार्फत दिने गरेको छ भने यसपटक नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ४ रूपैया दिने वचन दिएपछि किसानहरु उत्साहित भएका छन् ।
त्यस्तै नगरले प्रत्येक किसानको पशु बीमा गरिदिएको छ । १४ सयमा सातसय मात्र किसानले तिर्नु पर्छ । गत साल देखि नगरले पशु सुत्केरी भत्ता समेतको व्यवस्था गरेको छ । नेपालले ६ वटा पशुको सुत्केरी भत्ता वापत २५ हजार बुझ्नुभएको छ । कुटानी पिसानी मिल प्रदेशबाट १६ हजार तथा नगरबाट जाडो महिनाको लागि ५० प्रतिशत अनुदानमा म्याट पाउनुभएको छ । उहाँ जस्तै सिमपानीका टीकाप्रसाद शर्माले पनि गाई फाम सञ्चालन गरेर सोही अनुसारको सुविधा लिईरहनुभएको छ ।
त्यस्तै प्रदेशले १ रूपेया ६३ पैसा दिएको छ भने सहकारीको २ रूपैया थप गरेर जम्मा ६ रूपैंया पैसा किसानले पाउँछन् । तर डिडिसिले दिने बाहेकनै सोझै किसानले ६ रुपैंया प्राप्त गर्ने संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटा बताउँनुहुन्छ । नगरले दुध उत्पादनको लागि किसानलाई पाडापाडी तथा गाईभैंसी पालक कृषकका लागि कार्यविधि नै बनाएर सापटी अनुदानको कार्यान्वयनको प्रक्रियामा रहेको ११ नम्बर वडा अध्यक्ष तथा कार्यविधिका संयोजक रोशन गिरीको भनाई छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभरीका किसानहरुलाई कृषि औजार तथा सामाग्री वितरण गरेको छ ।
किसानहरूलाई कृषीमा आकर्षित गर्न सदरमुकाम चौतारा बजारको मुख्य स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरूसँग खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्ध समेत मिलाइएको छ ।

सङ्कलन केन्द्रमा किसानहरूद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला सिमी जस्ता तरकारी रहेको तरकारी सङ्कलन केन्द्र सञ्चालनका जिम्मेवारी पाउनुभएका कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
किसानले तरकारीको मूल्य भने बजार भाउ अनुसार नै पाउने छन् । त्यसका लागि विक्रेता किसानको कुनै पनि बैङ्कमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्ने छ । किसानबाट खरिद गरेको तरकारी लगायतका उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले जम्मा गरिदिने छ ।

किसानको भएभरको उत्पादन नगरमार्फत कृष्णबहादुर श्रेष्ठले खरिद गर्ने र बिक्री वितरण गरी किसानको खातामा नगरबाट प्राप्त अनुदानसहितको थप रकम पनि जम्मा गरिदिने जिम्मेवारी श्रेष्ठले निर्वाह गर्नुपर्ने छ ।
यसबाट किसानले कुनै पनि उत्पादन विक्री भएन भनेर फाल्नुपर्ने अवस्था नआउने नगर प्रमुख सापकोटाले बताउनुभयो । किसानका सबै उत्पादन खरिद गरी स्थानीय बजारमा खपत नभए राजधानीसम्म लैजाने प्रबन्ध मिलाइएको नगर प्रमुख सापकोटाको भनाई छ । त्यसका लागि चाँडै नै नगरपालिकाले कृषि एम्बुलेन्सको पनि प्रबन्ध मिलाउन लागेको नगर प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
यता नगरमार्फत आफ्ना उत्पादन खरिद विक्री गर्ने भएपछि किसानहरू खुशी भएका छन् । चौतारा साँगाचोकगढी वडा न ७ का किसान विष्णुप्रसाद दंगाल बजारको चिन्ता हटेको बताउनुहुन्छ ।
नगरपालिकाले अनुदानको ब्यवस्था गरेसँगै नगरभित्र व्यावसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दो छ । यसरी कृषक समूह वा संख्या बढ्नुमा नगरपालिकाको अनुदान कार्यक्रम तथा प्राविधिक सहयोग र तालिम महत्वपूर्ण बन्न पुगेको छ । यसले समृद्धिको यात्रा तय गर्ने सरकारी लक्ष्यमा ठूलो सहयोग पु¥याएको छ ।