लामो समय निर्माणकार्य रोकिएको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको काम सुरु भएको छ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले आयोजनाको निर्माण आगामी २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ । तोकिएको समयमा लक्षित प्रगति हासिल गर्न नसकेको भन्दै यसअघि खारेज भएको आयोजनाले पुनः अध्ययन अनुमतिपत्र प्राप्त गरी काम गरिरहेको छ । पहिले पनि निर्माणको केही हिस्सा सम्पन्न भइसकेको हुँदा बाँकी काम लक्षित समयभित्र पूरा लक्ष्य तय गरिएको छ । कम्पनीले अघि बढाएको आयोजना करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभरका लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा नै अनुमतिपत्र पुरानै कम्पनीलाई दिने आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआइ) जारी गरेको थियो । आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । विभागले आवेदन दिएपछिको प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण गर्न बाटो खोलिदिएको थियो । कम्पनीले यो आयोजनाको अध्ययन पूरा गरी निर्माण अनुमतिका लागि विभागले आवेदन दिएको छ । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेको इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको टेलरेसबाट निस्केको पानीको प्रयोग गरी सोही खोलाको दायाँ किनारमा मुख्य संरचनाहरू रहने गरी डिजाइन तयार पारिएको आयोजनाको निर्माण अनुमति दिन अन्तिम चरणको काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार उक्त आयोजना निर्माण गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवालाहरूलाई ३५ दिन भित्र लिखित राय÷सुझाव पेश गर्न आग्रह गरिएको छ । यस आयोजनाबाट वार्षिक सरदर २९.९८ गिगावट घन्टा विद्युत उत्पादन हुनेछ । विद्युतगृहमा जडित २ वटा फ्रान्सीस टर्वाइन (२.३५मेगावाट) र २ वटा ३ फेज जेनेरेटर (२.६५ मेगावाट) मार्फत ४.५ मेगावाट विद्युत उत्पादन गरिनेछ र त्यहाँबाट निस्केको पानीलाई ५० मिटर लामो टेलरेसबाट पुन इन्द्रावती खोलामा छाडिनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको २०० मिटर लामो ६६ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत पाँचखाल सबस्टेसनमा जोडिनेछ ।
