सम्पर्क

पर्यटन पत्रकारीता तालिम सम्पन्न

सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने पर्यटकिय क्षेत्र चिसापानीमा आयोजना गरिएको दुई दिने पर्यटन पत्रकारीता तालिम शनिबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा भएको तालिमको समापन तथा सहभागीहरुलाई प्रमाणपत्र वितरण मेलम्ची नगरपालिकाको नगर प्रमुख आईतमान तामाङले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले पर्यटन आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताउनुभयो । उहाँले पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । तालिममा बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेश समितिले पत्रकारका लागि समाजिक सुरक्षा कोष कार्यक्रम अघि बढाएको जानकारी दिदै पत्रकारको क्षमता अभिबृद्दीका लागि विभिन्न तालिम, कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
तालिमले अझै पर्यटन पत्रकारीतामा लाग्न प्रेरणा र उर्जा मिलेको तालिमका सहभागी काभ्रेका ज्योती श्रेष्ठ र चितवनका अपिल अधिकारीले बताउनुभयो । तालिममा बागमतीका ९ जिल्लाका २० पत्रकार सहभागी रहेको प्रदेश सचिव युवराज पुरीले जानकारी दिनुभयो । तालिमको टिपि भुषाल, अशोक सिलवाल, कुबेर चालिसे लगायतले सहजीकरण गर्नुभएको थियो ।