
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालीका – ६ स्थित फलाटेश्वर शिव पाञ्चायन मन्दिर र गौखुरेश्वर शिवालय क्षेत्र भित्र रहेका ३३ कोटी देवी देवताको मुर्ती प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले मन्दिरको उद्घाटन गर्दै मन्दिरको नियमित पुजापाठ सञ्चालनको व्यवस्था मिलाउन निर्माण गर्न लागिएको अक्षयकोषमा ब्यक्तिगत तर्फबाट रु पच्चीस हजार (२५, ०००) हस्तान्तरण गर्नुभएको थियो । उहाँले मन्दिरको थप भौतिक निर्माण कार्य सम्पन्न गर्नका लागी नेपाल सरकारबाट आफुले सक्दो सहयोग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको विशेष अतिथि पूर्व गृहराज्य मन्त्री विष्णु विक्रम थापाले आफु स्थानिय समेत भएकोले सो पवित्र धाममा सुरुवाती चरणदेखिनै सहयोग गर्दै आएको बताउँदै बाँकी अधुराकाम सम्पन्न गर्नको लागी जुनसुकै सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । यसैगरी सोहि अवसरमा सुनकोशी गाउँपालीकाका निवर्तमान अध्यक्ष एवं काँग्रेस महासमिति सदस्य श्रवण कुमार जिसीले अक्षयकोषका लागी रु दश हजार सहयोग गर्नुभएको थियो ।
त्यस्तैै काँग्रेस जिल्ला सदस्य नवराज भट्टराईले रु दुईहजार एकसय सहयोग गर्नुभएको थियो । कार्यक्रममा समितिका सचिव शम्भु प्रसाद कोइरालाले संस्थाको आर्थिक तथा प्रगती विवरण प्रस्तुत गर्दै मन्दिरमा नियमित पुजापाठ सञ्चालनकालागी सहयोगको अपील समेत गर्नुभएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी एवं सहयोगी महानुभावहरुको उपस्थिती रहेको कार्यक्रम आयोजक संस्था फलाटेश्वर शिव मन्दिर संरक्षण समितिका अध्यक्ष पं रामकृष्ण आचार्यले जानकारी दिनुभयो ।
